‘भाइरल फ्ल्यू’  तीव्र फैलिएपछि उमाकुण्डका सबै विद्यालय भोलि देखि बन्द

| कात्तिक २८, २०८२ बिहिबार

बाम्ति स्थित शिद्देश्वर मावि । तस्बिर अर्काइभ ।
A A A
A A A

२७ कात्तिक, रामेछाप । करिब १० दिने अघि देखि वडा नं ६ गुप्तेश्वरबाट फैलिएको ‘फ्यू’ व्यापक बन्दै गएपछि उमाकुण्ड गाउँपालिकामा सबै विद्यालय बन्द गरिएको छ । प्रीति च्यादालु स्थित चण्डेश्वरी माविले भने गएको मंगलबार देखि नै विद्यालय बन्द गरिसकेको थियो । 

 

बिहीबार एक सूचना जारी गर्दै गएको २३ गतेदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले पालिका भर लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशनात्मक पत्र सार्वजनिक गरेका हुन् । जारी पत्रमा भनिएको छ ‘भाइरस व्यापक रूपमा फैलिरहेको हुँदा बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि २८ देखि ३० गतेसम्म अध्यायन अध्यापन  बन्द गर्नु’ । 

 

गुप्तेश्वरमा एक्कासि टाउकु दुख्ने, वान्ता हुन खोज्ने, जोर्ने दुख्ने, रिङगाटा लाग्ने जस्ता समस्याले करिब १५० घर भन्दा बढीका स्थानीय एकै पटक बिरामी परेपछि त्रास बढेको थियो । भाइरस संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि मंगलबार बसेको कार्यपालिकाको निर्णय अनुसार विद्यालय बन्द गर्न निर्देशन दिइएको जारी पत्रमा उल्लेख छ ।

 

निर्देशन अनुसार सो पालिकामा भोलि शुक्रवार देखि आइतबार ३० गतेसम्म गाउँपालिका भरका सबै विद्यालयमा पठनपाठन नहुने भएको हो । 

 

मौसम परिवर्तन भइरहेको यो बेलामा स्वास्थ्य समस्या देखिँदा धेरै स्थानीयहरू बिरामी परेको बुझिएको छ । ६, ४ र ५ नम्बरमा बढी समस्या देखिएको स्थानीयहरूको भनाई छ । गाउँपालिकाले सम्बन्धित विद्यालयहरू तथा अभिभावकहरूलाई सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ अपनाउन आग्रह गरेको छ ।