जागरण सभा गर्न एमाले रामेछापले प्रशासनको अनुमति लियोः २ हजार जना सडकमा उतार्ने दाबी
बिच बजारको मुख्य सडक बन्द गरी बसपार्क तर्फ फर्काएर कार्यक्रम समापन गरिने
२७ कात्तिक, रामेछाप । नेकपा (एमाले) रामेछापले पर्सि शनिवार २९ गते देशभर ‘लोकतन्त्रको रक्षा र संविधान संरक्षणका’ लागि भन्दै गर्न लागेको ‘जागरण सभा’ गर्नको लागि प्रशासनको अनुमति लिएको छ । बिहीबार जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया र प्रदेश सांसद समेत रहेका पूर्व अध्यक्ष आनन्द कुमार श्रेष्ठ लगायत जिल्ला कमिटीको टोली प्रशासन पुगेर कार्यक्रम/सभा गर्न आवश्यक फारम भरी बुझाउँदै अनुमति लिएको पार्टीका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले बताए ।
‘अनुमति लिइसक्यौँ’ अब यो कार्यक्रम सफल बनाउनको लागि सबैको साथ र सहयोग चाहिन्छ’ नेता श्रेष्ठले भने ‘करिब चार हजारको उपस्थिति हुन सक्छ ।’ पछिल्लो पटक गृहले कुनै पनि सभा, र्याली, जुलुस जस्ता कार्य गर्न अनिवार्य प्रशासनको अनुमति लिनु पर्ने नियम लागू गरेको छ।
शनिवार १२ बजे एमाले पार्टी कार्यालय अगाडिबाट र्याली निकालेर विनीता चोक पुग्ने र त्यसपछि देवकोटा चोकमा फर्किएर कोण सभा (समापन) कार्यक्रम गर्ने तयारी रहेको जानकारी दिँदै नेता श्रेष्ठले भने ‘सडकलाई एकतर्फी बन्द गरेर कार्यक्रम निर्धारित कार्यक्रम सकाउने योजना हो ।’
तस्बिर स्रोत प्रेस चौतारी रामेछाप, फेस्बुक
उनका अनुसार शनिवार एमालेको कार्यक्रमको लागि १२ बजेदेखि केही समय मन्थली बिच बजारको सडक बन्द गरी गरिने छ । देवकोटा चोकको हुँदै प्रहरी कार्यालय भएर बसपार्क जोड्ने बाटोलाई खुल्ला गरिने र बिच बजारको मुख्य सडकमा बसपार्क तर्फ फर्काएर कार्यक्रम समापन गरिने गरी तयारी अगाडि बढेको हो । यद्दयपी, पूर्ण रुपमा सडक बन्द नहुने दाबी प्रचार विभाग प्रमुख श्रेष्ठको भनाई छ ।
प्रशासनसँग पनि धेरै लामो कार्यक्रम नहुने भएकाले सडक एक तर्फ संचालन व्यवस्था मिलाएर कार्यक्रम गर्ने विषयमा कुराकानी गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताए । ‘धेरै लामो समय कार्यक्रम हुँदै र शनिवार पनि हो भन्ने रिक्योस्ट आएपछि एक तर्फी मिलाएर कार्यक्रम गर्ने विषयमा कुरा भएको हो ।’
जेन्जी आन्दोलनपछि पहिलो पटक एकै चरणमा ७५३ वटै पालिकाहरूमा कार्यक्रम गरिने केन्द्रीय निर्देशन अनुसार मन्थली र रामेछाप नगरपालिकामा बाहेक अन्य पालिकाहरूमा संगठन बिस्तार र र्यालीसहित प्रदर्शन गरेको एमाले रामेछापले शनिवार जिल्ला स्तरीय कार्यक्रम अन्तर्गत मन्थलीमा जनसभा गर्न लागेको छ । जेन्जी आन्दोलन र पछिल्लो राजनीतिक घटना क्रमपछि आफू बलियो भएको प्रमाण पेस गर्न ‘उपस्थिति विशाल’ देखाउनु पर्ने बाध्यात्मक अवस्थामा रहेको एमाले रामेछापलाई मन्थलीमा गर्न लागेको यो सभा प्रतिष्ठाकै विषय बन्न पुगेको छ । सोही परिस्थितिलाई गहिराइमा बुझेको एमाले रामेछापले यो प्रर्दशनलाई बलियो देखाउन केही दिन यता चरणबद्ध र ‘नेताहरू एक बनेको देखाएर’ लागि परेका छन् ।
‘नजिका पालिकाहरू बाट अलि बढी उपस्थिति हुने नै भयो । पालिका स्तरबाट कम भए पनि २ हजारको उपस्थिति होला भन्ने अपेक्षा छ’, ४ हजार ल्याउने योजना राख्दा २ हजार जनाको उपस्थिति हुन सक्ने भन्दै नेता श्रेष्ठले भने ।
बिहीबार देखि प्रचारप्रसारलाई पनि तीव्र पारेको दाबी गर्दै एमाले रामेछापले भातृसंगठन प्रेस चौतारीलाई पनि प्रचारप्रसारमा तीव्र पार्न निर्देशन दिएको छ । शुक्रबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी जनसभा बारेमा थप जानकारी गराउने तयारी समेत भइरहेको बुझिएको छ ।
