केपी ओलीलाई ७ दिन भए पनि प्रधानमन्त्री बनाएर लोकतन्त्र र देश बचाउनु पर्छ – एमाले प्रदेश कमिटी अध्यक्ष ढुङ्गेल
२९ कात्तिक, रामेछाप । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले संविधान र लोकतन्त्रलाई बचाउन केपी ओलीलाई ७ दिन भए पनि प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् । विघटित संसद् पुनः स्थापना गरेर संविधानलाई ट्रयाक्मा ल्याउँदै अर्लि इलेक्सनमा जान सकिने उनको भनाइ छ ।
शनिवार एमाले रामेछापले आयोजना गरेको शक्ति प्रदर्शनी एवं जागरण सभालाई सम्बोधन गर्दै मन्थलीमा प्रदेश कमिटीका अध्यक्ष ढुङ्गेलले केपी ओलीको राष्ट्रवादी अडान देखेर देशी विदेशी तत्त्वहरूले हटाएको हुँदा उनलाई अब जसरी भए पनि फेरी प्रधानमन्त्री बनाउनु पर्ने उल्लेख गरे । बागमती प्रदेश सरकारका पूर्व अर्थ मन्त्री समेत रहेका ढुङ्गेलले भने ‘संसद् पुनःस्थापना गरेर केपी ओलीलाई ७ दिन भए पनि १५ दिन भए पनि एक महिना भए पनि प्रधानमन्त्री बनाउनु पर्छ ।’

वर्तमान प्रधानमन्त्री सुशीला कार्की, कारागार भित्र रहेका (रास्वपा) सभापति रवि लामिछाने, बालेन, सुदन गुरुङ, नेकपा (माओवादी) र राजावादी प्रति आक्रोश पोख्दै उनीहरूले नै जेन्जी आन्दोलनको बहानामा देशलाई खरानी पारेको आरोप लगाए ।
आउँदो मंशिर ६ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको जानकारी गराउँदै प्रदेश कमिटी अध्यक्ष ढुङ्गेलले भने ‘सरकार बाहिर रहेको माओवादीले मौकाको फाइदा लियो । राजावादीहरू पनि कुनै कुनामा लुकेर जनप्रतिनिधि हुँ भन्दै बसेका ‘लुसिफरहरु’ र जेल भित्र रहेका अपराधीहरूले देश खरानी पारे ।
नेकपा एमालेले आज ७४ जिल्लामा आफ्नो शक्ति प्रदर्शन गरी संसद् पुनःस्थापना गर्न लागेको जानकारी गराउँदै रामेछापमा बलियो प्रदर्शन गर्न सफल बनेको दाबी गरे ।
