उमाकुण्ड रनिङ शिल्डः चण्डेश्वरीलाई हराउँदै कैलेश्वरले जित्यो उपाधि

| मंसिर १८, २०८२ बुधबार

A A A
A A A

१७ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलेश्वर मावि गुप्तेश्वरले जितेको छ । उसले ११ वटा स्वर्णसहित कूल २५ पदक हासिल गर्दै छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चुमेको हो । यस अगाडि निरन्तर तीन पटक रनिङ शिल्ड जितेर चण्डेश्वरी मावि (प्रीति–४) ले एउटा रनिङ शिल्ड पञ्च गरिरहेको छ । उक्त माविलाई पछि पार्दै कैलेश्वरले उपाधि जितेको हो । 

 

गएको सोमबारदेखि पालिकाको वडा नं ३ कुँबुँकाँस्थलीको धोबीटार खेल मैदानमा सुरु भएको प्रतियोगितामा ७ वटै वडाका १–१ वटा माविका २४२ छात्रा, छात्रले भलिबल, कबड्डीसहितका विभिन्न १२ खेलमा ३० वटा स्वर्णको लागि प्रतिस्पर्धा गरेका थिए । सो, खेलमा बुधवार चण्डेश्वरी माविलाई पछि पार्दै पहिलो कैलेश्वरले पटक रनिङ शिल्ड हात पारेको हो । विजेता कैलेश्वर माविले नगद २० हजारसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता चण्डेश्वरी माविले नगद १५ हजारसहित ट्रफि र मेडल प्राप्त गरेको हो । छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सहआयोजक समेत रहेको जनता माविले तेस्रो स्थान हासिल गर्दै नगद १० हजारसहित ट्रफि र मेडल प्राप्त गरेको छ । 

 

विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलसहितको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरे । उत्कृष्ट विधामा खेलाडीहरूलाई ट्रफिसहित पुरस्कृत गरिएको उक्त प्रतियोगितामा सर्वोत्कृष्ट र युवा खेलाडी पुरस्कारद्वार भलिबल र कबड्डीका खेलाडीलाई पुरस्कृत गरिएको थियो । 

 

तीन दिने रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सहभागी विद्यालयहरूलाई व्यवस्थापन खर्च बापत नगद १–१ लाख, यातायात खर्च दूरीको हिसाबले ३५ हजार देखि ६० हजारसम्म उपलब्ध गराइएको प्रतियोगिता संचालनको लागि करिब २० लाख खर्च हुने पूर्व अनुमान गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले बताए ।

 

उत्कृष्ट र युवा खेलाडीहरुको प्रोत्साहनको लागि ट्रफिले प्रोत्साहित गरी ‘उत्कृष्ट’ खेलाडी घोषणा गरिएको उक्त प्रतियोगिता तेस्रो भएको जनता मावि र चण्डेश्वरी माविका खेलाडी धेरै ‘उत्कृष्ट’मा पार्न सफल भएका छन् ।