उमाकुण्ड गाउँपालिकाले निःशुल्क लोक सेवा र शिक्षक सेवा आयोगको कक्षा संचालन गर्ने

| मंसिर २६, २०८२ बिहिबार

फाइल तस्बिर
A A A
A A A

२५ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिकाले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा संचालन गर्ने भएको छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बिहीबार एक सूचना जारी गर्दै निःशुल्क तयारी कक्षामा सहभागिता हुन आग्रह समेत गरेको छ । पालिकाले १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष मुनिका महिला तथा अपाङ्गता भएका व्यक्तिले पढ्न मिल्ने गरी कक्षा सञ्चालनको तयारी अगाडि बढाएको हो । 

 

विगतका वर्षहरूमा पनि कक्षा संचालन गरेको यो पालिकाले ७ वटा वडाबाट १ जना भए पनि राज्यका कुनै पनि निकायमा जागिर खुवाउने र भविष्यमा पालिकामा गाउँपालिकाकै कर्मचारीहरूबाट संचालन गर्न मद्दत पुर्‍याउने उद्देश्यले निःशुल्क तयारी कक्षा संचालन गर्न लागेको पालिकाका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले रामेछाप टाइम्ससंग बताए । ‘कार्यान्वयन पक्ष कमजोर हुँदा बजेट मात्रै सक्यो भन्ने प्रश्न त उठ्ने गरेका छन् तर, हाम्रो उद्देश्य भनेको एक जनाले भए पनि नाम निकाल्योस् भन्ने हो ।’

 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा लोक सेवा र शिक्षक सेवाका कक्षा संचालन गर्न कै निम्ति बजेट व्यवस्था गरेको जानकारी गराउँदै शिक्षा शाखा प्रमुख शेर्पाले थपे ‘कम्तीमा कक्षा १२ उत्तीर्ण गरेका युवाहरू सरकारी निकाय (जागिर) को लागि प्रेरित गराउने प्रयत्न हो’ ।

 

केही वर्षदेखि गाउँपालिकामा शिक्षा शाखा मार्फत जिम्मेवारी निर्वाह गर्दै आएका उमाकुण्ड निवासी शेर्पाले बाहिरबाट कर्मचारी आउने र २÷४ महिना बसेर हँडिदा गाउँपालिकाले ठुलो क्षति बेहोर्नु पर्नेको तर्क गर्दै ‘भविष्यमा यहीँका कर्मचारीले पालिका चलाए भने’ त्यो समस्या मुक्त हुने दाबी गरे ।

 

जिल्लाकै उत्तरी क्षेत्रमा अवस्थित दुर्गम क्षेत्र पहिचान बोकेको यो पालिकाले संचालन गर्ने निःशुल्क कक्षमा सहभागी हुन आगामी पुस १० गते भित्र आवेदन दिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए ।