प्रतिनिधि सभाको उम्मेद्वार बन्न रामेछाप काँग्रेसका सभापति कान्छारामसहित १० जनाले दिए आवेदन, को–को होलान् सिफारिस ?
२९ मंसिर, रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेद्वार बन्नको लागि नेपाली काँग्रेसबाट पार्टी सभापति एवं विघटित प्रतिनिधि सभाका सांसद तथा निवर्तमान राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिएका १० जनाको नाम सिफारिस भने भइसकेको छैन ।
आइतबार दिउँसो १ बजे सम्म सभापति तामाङसहित नेता भरत प्रसाद चौलागाई (सुनापति–१, वीर बहादुर तामाङ (खाँडादेवी–१), युवराज भट्टराई (मन्थली–३), अर्जुन कुमार केसी (खाँडादेवी–३), रत्नबहादुर कार्की (रामेछाप–१), रामकृष्ण खड्का (गोकुलगंगा–५, जितेन्द्र कुमार मोक्तान (सुनापति–३), रत्नहरि ढुङ्गेल (खाँडादेवी–५), जीवनबहादुर कार्की (लिखु तामाकोशी–६) ले उम्मेद्वारी बन्नको लागि आवेदन दिएका हुन् ।
शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले तय गरेका मापदण्ड पूरा गरेर नगद १५ हजार रुपैयाँसहित आवेदन पेस गरेका हुन् । आवेदन दिएकाहरू नाम सबैको सहमति अनुसार टुङ्गो लगाएर एक महिला सहित ३ जना बनाएर पठाउने कि ? नमिले दर्ता भएका सबै नामावली सिफारिस गर्ने लगायतका विषयमा विस्तारित बैठकमा छलफल भइरहेको छ ।


