‘सांसद बन्न उम्मेद्वार छनोट : प्रत्यक्षमा ७ र समानुपातिकमा ४ जनाको नाम केन्द्र पठाउने राप्रपा रामेछापको निर्णय

| पुस २, २०८२ बुधबार

A A A
A A A

०२ पुस, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापले पनि आगामी निर्वाचनमा उम्मेद्वार बन्ने आकाङ्क्षीहरूको नामावली जस्ताको तस्तै केन्द्रलाई सिफारिस गरेको छ । यसअघि नेपाली काँग्रेस रामेछापले पनि आवेदन दिएका २९ जनाकै नाम जस्ताको तस्तै केन्द्रलाई सिफारिस गर्दै जिल्लाबाट उम्मेद्वार सिफारिस गर्ने पहिलो दल बनी सकेको छ । 

 

बुधवार मन्थलीमा बसेको राप्रपाको १४ औँ जिल्ला कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपाती दुवै तर्फको उम्मेद्वार गरी कूल ११ जनाको नाम केन्द्रीय कमिटीलाई पठाउने निर्णय गरिएको राप्रपा रामेछापका उपाध्यक्ष शिवजी घिमिरेले रामेछाप टाइम्सलाई बताए । 

 

‘केन्द्रीय कमिटीले गरेको निर्देशन बमोजिम उम्मेद्वार बन्न आकांक्ष देखाउने सबै जनाको नाम जस्ताको तस्तै पठाउने निर्णय गरिएको हो’, उपाध्यक्ष घिमिरेले भने ‘अब केन्द्रले उम्मेद्वार टुङ्गो लगाउँछ।’

 

प्रतिनिधि सभा निर्वाचनमा यहाँबाट खुल्ला तर्फ एक महिलासहित ३ जना र समानुपातिक तर्फ खुल्ला ३ जनाको नाम पठाउन केन्द्रले परिपत्र गरेको राप्रपा रामेछापको भनाई छ । यसरी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उम्मेद्वार सिफारिस हुनेमा पहिलो नम्बरमा नेता आङ्टावा शेर्पा रहेका छन् । त्यस्तै दोस्रो नम्बरमा मणिराज तामाङ, तेस्रो नम्बरमा शिवजी घिमिरेसहित क्रमशः केन्द्र ढुङ्गेल, शान्ता भुजेल र लालबहादुर घिसिङ रहेका छन् । 

त्यस्तै समानुपातिक तर्फ आङछिरिङ्ग लामा, सरस्वती श्रेष्ठ, भरत सिं वाइबा र गोरे तामाङको नाम सिफारिस गरिएको उपाध्यक्ष घिमिरेले जानकारी गराए । ८ जनाको नाम सिफारिस गर्नु पर्नेमा आकाङ्क्षीहरू बढेपछि सबैको नाम केन्द्रलाई पठाइएको उपाध्यक्ष घिमिरेले बताए ।

 

राप्रपा प्रजातान्त्रिक विधिबाट नभाग्ने जिकिर गर्दै पछिल्लो परिस्थितिबाट गुज्रिएको देशलाई निर्वाचन मार्फत नयाँ शक्ति दिनको लागि पार्टी निर्वाचनमा होमिएको उनको भनाई छ ।

 

विगतका निर्वाचनहरूमा रामेछापमा राप्रपाले बलियो शक्ति देखाउन नसके पनि यो पटक अन्य राजनीतिक दलहरूसँग चिडिएकाले आफूले मत पाउने राप्रपाको दाबी छ ।

 

राप्रपाले माघमा हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा लागि भने केन्द्रले निर्देशन नगरेकाले केही नबोलेको उपाध्यक्ष घिमिरेको भनाई छ ।