पुस २९ गते जिल्ला अधिवेशन गर्ने राप्रपा रामेछापको निर्णय, नेतृत्वमा बस्ने रस्साकस्सी !
०२ पुस, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापले यही पुस २९ गते मंगलबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । हाल सम्म दुई स्थानीय तहको मात्रै अधिवेशन सकिएको अवस्थामा राप्रपाले पुस भित्र जिल्ला अधिवेशन सक्ने निर्णय गरेको हो ।
बुधवार मन्थली स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले २९ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष भरत सिं वाइबाले रामेछाप टाइम्सलाई बताए । ‘स्वसहमतिले पुस भित्र जिल्लाको अधिवेशन सक्ने निर्णय गरेका हौँ ।’
हाल सम्म आट वटा स्थानीय तह मध्ये लिखु तामाकोशी र मन्थली नगरपालिकाले मात्रै पालिका स्तरको अधिवेशन सकेका छन् । मन्थली नगरको बुधवार जिल्ला पार्टी कार्यालयमै बैठकपछि नगर कमिटीका नेताहरूको उपस्थितिमा अधिवेशन गरिएको हो ।
सांसद बन्ने उम्मेद्वारहरुको नामावली समेत जस्ताको जस्तै सिफारिस सम्पन्न गरेपछि गरिएको नगर अधिवेशनले केदार ढुङ्गेलको अध्यक्षतामा २२ सदस्यीय नगर समिति गठन गरेको जिल्ला अध्यक्ष वइबाले बताए ।
जसको उपाध्यक्षमा श्रीराम थापा र शंत माया माझी लगायत रहेका छन् । नगर अधिवेशन र जिल्ला कार्यसमिति बैठकमा बोल्दै नेताहरूले काम नगर्ने तर पदमा बस्न भने सबैले अपेक्षा राख्दा पार्टी अगाडि बढ्न बाधा परिरहेको तर्क गरेको सुनियो ।
नेताहरू बिच नगरको नेतृत्व लिन निकै रस्साकस्सी परेपछि मतदानमा जानु पर्छ भन्दै नेताहरू आक्रोशित समेत सुनिए । यद्दयपी सहमति मै नगरको अध्यक्ष ढुङ्गेल बनेका हुन् । ‘पदमा बस्न मात्रै खोज्ने पार्टीलाई आवश्यक परेको बेला कोही बाहिर आउने हैनन्’, नगरकै एक नेताले आक्रोशित हुँदै भने ।
पुसमा अधिवेशन गर्ने निर्णय गरेको राप्रपाको जिल्लाको नेतृत्व लिन पनि नेताहरू बिच लबिङ सुरु भएको बुझिएको छ । भने, दुई कार्यकाल अध्यक्ष बनी सकेका वाइबा कार्यकर्ताको भावना अनुसार अगाडि बढ्ने तयारीमा देखिएका छन् ।
