सोमबार मन्त्री कुलमान घिसिङ मन्थली आउने : उज्यालो नेपालले यसरी गर्दै छ तयारी ?
को हुन उज्यालो पार्टी विस्तारमा लागेका मैनाली र लामा ?
फाइल फाेटाे
०५ पुस, रामेछाप । जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ पर्सी (सोमबार) गृह जिल्लाको मन्थली आउने भएका छन् । त्यसको लागि कार्यक्रमको तयारीमा उज्यालो नेपाल पार्टी जुटेको जनाएको छ ।
मन्त्री घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेर देशमा रहेको पट्यार लाग्दो लोड्सेडीङ् हटाउन प्रमुख भूमिका खेलेको भन्दै जनताले रुचाएका पात्र हुन् । घिसिङ देश तथा विदेशमा समेत चर्चित छन् । भने, पछिल्लो पटक मन्त्री बनेपछि भारतसँग गरिएको विद्युत् व्यापार सम्झौतालाई लिएर केही आलोचना, आरोपहरू र टिप्पणी समेत भइरहेको छ।
शनिवार मन्थलीमा रामेछाप टाइम्ससंग कुराकानी गर्दै सोमबार कुलमान घिसिङ आउने पार्टीको कार्यक्रमको संयोजन गरी रहेका उज्यालो नेपाल पार्टीका केन्द्रीय युवा संयोजक राजकुमार मैनालीले रामेछाप टाइम्ससंग भने ‘उहाँको प्रमुख आतिथ्यतामा पार्टीको प्रथम भेला भव्यताको साथ गर्दै छौँ ।’
२४ भदौमा भएको जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा मुख्य तीन वटा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेका घिसिङको सक्रियतामा पछिल्लो पटक उज्यालो नेपाल नामक पार्टी खोलेपछि पार्टीको कार्यक्रममा भाग लिन मन्त्री घिसिङ जिल्ला सदरमुकाम मन्थली आउने भएका हुन् । मन्त्री बनेपछि पटक–पटक आफ्नो जन्म थली सुनापति गाउँपालिका आए पनि सदरमुकाममा उनी पहिलो पटक आउन लागेका हुन् ।
पहिलो पटक जिल्ला भेला गरी पार्टीको संगठन विस्तारमा जुटेको उज्यालो नेपाल पार्टीले केही दिन अगाडि देखिनै जिल्लाका ८ वटै पालिकाका मानिसहरूसँग सम्पर्क गरी कार्यक्रममा उपस्थिति हुन जानकारी गराइएको सुनाउँदै भेलाको संयोजन गरिरहेका ‘भेला संयोजक’ राम कृष्णा लामाले भने ‘यो छोटो समयको हाम्रो सक्रियताले करिब ५ सय हाराहारीमा साथीहरू भेला हुने तयारी छ’, यो भेलालाई मन्त्री घिसिङले प्रमुख अतिथिको रूपमा सम्बोधन गरी पार्टीलाई सहयोग गर्ने दाबी गरेका लामाले आफूहरूले डाकेपछि मन्त्री कुलमान आउने लागेको जिकिर दोहोर्याए ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा कुलमान घिसिङ काठमाडौँ क्षेत्र नं ३ बाट चुनाव लड्ने निश्चित भइसकेको बताएका मैनालीले जिल्लामा समेत पार्टीले उम्मेद्वार खडा गर्ने बताए । ‘राम्रो उम्मेद्वार उठाएर हामीले यहाँका जनताबाट अत्यधिक मतपाएर विजयी भएर जान्छौँ ।’
आउँदो निर्वाचनमा उज्यालो नेपाल पार्टीले देशभरबाट मत पाउने उनको दाबी छ ।
को हुन उज्यालो पार्टी विस्तारमा लागेका मैनाली र लामा ?
मैनाली २० वर्ष भन्दा लामो समय नेकपा (एमाले) को वडादेखि केन्द्र सम्मका विभिन्न तहमा बसेर काम गरेका युवा नेता हुन् । उनले एमालेको युवासंघ सँग आबद्ध रहेर जाजरको भूकम्पमा परेका पीडितहरूको उद्दार र राहत वितरणमा पनि पुगेका थिए । एमालेले आफूलाई डिजिटल एवं प्रविधिमा दक्ष भन्ने अनि मिडिया माथि अंकुश लगाएर सोसल मिडिया बन्द गर्ने सम्मको तहमा उत्रिएपछि वितृष्ण हुँदै नयाँ पार्टी निर्माणमा जुटेका मैनाली बेथानमा कुलमान घिसिङकै छिमेकी हुन् । स्काउट ट्रुप मार्फत विद्यार्थीहरूमा समाजलाई जोड्ने विभिन्न काममा सक्रिय बन्दै आएका मैनाली उज्यालो नेपाल निर्माणमा कुलमानका विश्वासिला पात्र बनेर उभिँदै आएको दाबी गरिएको छ ।
त्यस्तै, ३४ वर्ष नेकपा (एमाले) मै काम गरेका तत्कालीन गाविस अध्यक्ष समेत बनेका रामकृष्ण लामा एमालेमा लामो समय दुःख गरे पनि पार्टीले मूल्याङ्कन तहमा ‘आसेपासे’लाई मात्रै स्थान दिँदा केही गरौँ भन्न इच्छा शक्ति उपयोग गर्न नयाँ पार्टीलाई अगाडि सारेको बताउँछन् । सुनापति गाउँपालिका–५ का लामा यो पार्टीलाई बलियो र जनताको बनाउने दाबी गरिरहेका छन् ।
