फागुन २१ मा चुनाव हुनै पर्छ र नयाँ शक्तिहरू नेतृत्वमा आउनु पर्छ नत्र जेन्जी विद्रोहको औचित्य हुँदैन : मन्त्री घिसिङ
०७ पुस, रामेछाप । अन्तरिम सरकारमा तीन ठुला मन्त्रालयको जिम्मेवारी बोकेका मन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनले देशमा नयाँ दलहरूको सरकार आउनु पर्ने तर्क गरेका छन् । २१ फागुनको निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दै मन्त्री घिसिङले भने ‘चुनाव हुनै पर्छ, देशको स्थिरताको लागि चुनाव अनिवार्य छ ।.....र चुनावबाट नयाँ नेतृत्व आउनु पर्छ, अनि मात्रै यो निर्वाचनको औचित्य रहन्छ । यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ’, आफूले मात्रै चुनाव जित्नु ठुलो कुरा नरहेको बताएका मन्त्री घिसिङले थपे ‘देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले चुनाव जितेर बहुमत, दुई तिहाइ भयो भने देश विकास गर्न सकिन्छ ।’
आगामी निर्वाचनबाट पनि पुरानै दलहरू (नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्प्युनिष्ट) पार्टीहरूका नेताले चुनाव जितेर सरकारको नेतृत्वमा पुगेमा जेन्जी विद्रोहले निर्माण गरेको पछिल्लो सिर्जित परिस्थितिको औचित्य नहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री घिसिङको भनाई छ । चुनाव पछि बन्ने सरकार अहिले निकै महत्त्वपूर्ण रहेको उनको तर्क छ ।

सोमबार गृह जिल्ला रामेछापको मन्थलीमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले ‘यो निर्वाचन अनिवार्य हुनु पर्छ ...र नयाँ शक्तिहरू नेतृत्वमा पुग्नु पर्छ’ भने ।
जिल्लामा उज्यालो नेपाल पार्टीका नेताहरूलाई बहुमत ल्याउने गरी सक्रिय हुन निर्देशन समेत दिएका उनले देश बनाउन प्रधानमन्त्री नै सही र क्षमतावन हुनु पर्ने दोहोर्याए । उनले प्रस्ट पार्दै भने ‘हिजोका नेताहरूले लिडरसिप गरेनन्, राजनीति मात्रै गरे । हामी राजनीति गर्न आएका हैनौँ, देशको समृद्धिको लागि काम गर्न आएका हौँ ।’
भाषण र गफ्ले देश विकास नहुने जिकिर गर्दै मन्त्री घिसिङले पुराना शक्तिहरूलाई परास्त गर्न नयाँहरू एकताबद्ध भएर अगाडि बढ्ने आश्वासन दिए । ‘उज्यालो नेपाल पार्टीको केन्द्रीय अध्यक्ष नै’ मन्त्री घिसिङ स्वयं भए जसरी आफ्नो धारणा बोलेका मन्त्री घिसिङले छोटो समयमै पार्टी देशभर फैलिएको बताए ।
