रामेछापका व्यवसायीले मन्त्री घिसिङलाई भने ‘खुर्कोटमा तत्काल पक्की पुल निर्माण थाल्नुस्, मन्थलीमा डम्पिङसाइड् पनि छैन’

| पुस ८, २०८२ मंगलबार

A A A
A A A

०८ पुस, रामेछाप । रामेछापका निजी व्यवसायीहरूले लामो दूरीको कारण उपभोक्ता मूल्य वृद्धिको मारमा परेको भन्दै खुर्कोटमा तत्काल पक्की पुल निर्माण पहल थालिदिन आग्रह गरेका छन् । रामेछाप उद्योग वाणिज्य संघको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई लिखित माग पत्र बुझाउँदै वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले सुनाए ‘बेलिब्रिज निर्माण गरी सवारी सञ्चालन हुँदै आएको भए पनि पुलको भार बहन क्षमताको कारण सित्खा–मन्थलीबाट सामान ढुवानी गर्नु पर्दा उपभोक्तालाई चर्को मूल्य तिर्नु पर्ने बाध्यता बनेको छ’, त्यसैले अस्थायी रूपमा बेलिब्रिज राखिएको सुनकोशी माथि तत्काल पक्की पुल निर्माणको कार्य अगाडि बढाइदिन अनुरोध गर्दछौँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यवसायीको तर्फबाट भने । ‘त्यो नहुँदा यहाँका व्यवसायी र उपभोक्ता ठुलो मारमा परेका छन् ।’

 

मन्त्री भए पछि सोमबार पहिलो पटक जिल्ला सदरमुकाम मन्थली आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री घिसिङलाई खुर्कोटको पुल व्यवसायीहरूको आवश्यकतालाई परि पूर्ति गर्ने गरी सञ्चालन हुन नसक्दा व्यापारी र उपभोक्ता सबै समस्यामा रहेको व्यवसायी श्रेष्ठले सुनाए । गत वर्ष सुनकोशी नदीमा आएको बाढीले खुर्कोटको पक्की पुल बगाएपछि राखिएको अस्थायी बेलिब्रिज १५ टन क्षमताको मात्रै हुँदा निर्बाध रूपमा मालवाहक सवारी सञ्चालन हुन सकिरहेका छैनन् । 

 

अझ, बिपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा राति मात्रै मालवाहक सवारी सञ्चालन गर्नु पर्दा थप सास्ती खेप्नु परेको गुनासो गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ‘खुर्कोटमा पक्की पुल नबन्दा सम्म राति मात्रै सवारी सञ्चालन गर्न पाइने नियम हटाइदिनुस्’ । यस्तो गरिए सित्खा हुँदै मन्थली सम्म जुनसुकै समयमा पनि मालबहाक सवारी सञ्चालन गर्न पाइने हुँदा केही राहत मिल्ने उनीहरूको तर्क छ । 

उता केही दिन अगाडि पार्टीको एक कार्यक्रममा निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री समेत नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले खुर्कोटमा पक्की पुल निर्माणको लागि टेण्डर समेत सकिएर काम क्रमशः अगाडि बढी रहेको बताएका थिए । ऊर्जा राज्य मन्त्री भएकै बलमा छोटो समयमै बेलिब्रिज राखेर जनताको पक्षमा काम गरेर जनताका नजरमा परेका नेता कान्छारामले खुर्कोट पुललाई दिगो नबनाई नछाड्ने जिकिर गर्दै आएको बेला निजी क्षेत्रका व्यवसायीहरूले पनि अस्थायी बेलिब्रिजलाई हटाएर पक्की पुल तत्काल निर्माण गरिदिन आग्रह गरेका हुन् । 

 

तीन वटा प्रमुख मन्त्रालयको जिम्मेवारीमा रहेका रामेछाप निवासी कुलमान घिसिङ मन्त्री रहेका बेला यहाँको विकासमा ठुलो टेवा पुग्ने अपेक्षा देखाएका यहाँका व्यवसायीहरूले मुख्य बजारहरूमा सडक बत्ती, जिल्ला सदरमुकाम समेत रहेको मन्थलीमा डम्पिङ साइड निर्माणमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् । मन्थली बजारको फोहोर तामाकोशी किनारमा फ्याँकिँदै आएको सुनाउँदै डम्पिङ्साइड् निर्माणको लागि आवश्यक सहयोग गरिन समेत संघले मन्त्री घिसिङलाई सुनाएको हो ।

 

जिल्लामा संचालित आयोजनाहरू बारेमा समन्वय प्रमुख चिना खड्का (कार्की), प्रमुख जिल्ला अधिकारी सहित उपस्थितिमा चासो राखेका मन्त्री घिसिङले सरकारले रोक्का राखेको बजेट तत्काल खुल्न लागेको जानकारी गराउँदै क्रमै अनुसार अगाडि बढ्ने आश्वासन दिएका थिए ।