मन्थली सामुदायिक खानेपानी उ‍.सको अध्यक्षमा सुवेदी दोहोरिएः सदस्य र कोषाध्यक्ष बन्न क–कसले गरे उम्मेद्वारी दर्ता ? (नामावलीसहित)

| पुस १०, २०८२ बिहिबार

A A A
A A A

१० पुस, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा खानेपानी आपूर्ति गर्दै आएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा पुनः पूर्ण सुवेदी दोहोरिएका छन् । समितिको २३औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट सुवेदीकै अध्यक्षतामा कार्यसमिति हेरफेर भएको हो । 

 

बिहीबार मन्थलीमा सम्पन्न निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री एवं नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम),बागमती प्रदेश सभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठसहितको उपस्थितिमा भएको अधिवेशनले सुवेदीलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निरन्तरता दिएको हो । उनलाई सर्व सहमतिमै अध्यक्षमा दोहोर्‍याउने समितिले निर्णय गरेको हो ।
 

तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मन्थली–१ मा खानेपानीको मात्र आपूर्ति गर्दै आएको यो समितिले पछिल्लो समय आफ्नो क्षेत्र विस्तार गर्दै मन्थली–२ को केही भागमा समेत पानीको मात्र वितरण गर्दै आएको छ । हाल मन्थली नगरपालिका मातहतको यस समितिको महासचिवमा व्यवसायी ढाकल थापा निर्विरोध निर्वाचित भएका छन्। 
 

त्यस्तै,उपाध्यक्ष यमबहादुर बुढाथोकी र समितिको सचिवमा शान्ता न्यौपाने (सुवेदी), निर्विरोध हुँदा ७ वटा इलाकामा भने केही सदस्यहरू बिच सहमति नहुँदा उम्मेद्वरी दर्ता गरिएको निर्वाचन समितिले रामेछाप टाइम्सलाई बताएको छ । 

 

निर्वाचन समितिका प्रमुख लक्ष्मण भुजेलले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार इलाका नम्बर १ मा १ जना सदस्य पदको लागि ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । 

 

जसमा युवराज सुवेदी, दिनेश सुवेदी, विजय सुवेदी, निकाश पौडेल (हेमन्त) ले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दर्ता गरेका सबैको शुक्रवार सहमतिको लागि पहल गरिने र सहमति हुन नसकेमा शनिवार मतदानबाटै छनोट प्रक्रिया अगाडि बढ्ने तयारी रहेको बताइएको छ । 

तस्बिर साभार लेखबहादुर कार्की 

 

त्यस्तै, इलाका नम्बर २ बाट दामोदर घिमिरे, ३ बाट वेदबहादुर श्रेष्ठ, ४ बाट दीपक भट्ट, ५ बाट श्याम श्रेष्ठ, ६ बाट शंकर थापा र ७ बाट रामकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

 

त्यस्तै, खुल्ला महिला ३ जनाको लागि विनीता काफ्ले, कोपिला,रिता ढुङ्गेल, जयन्ती खड्का र कविता श्रेष्ठसहित ६ जनाको उम्मेद्वारी परेको छ । उनीहरू बिच पनि शुक्रवार सहमति नभए मतदान हुने छ । 

 

त्यस्तै समितिको अध्यक्ष पदपछि निकै महत्त्वपूर्ण मानिएको कोषाध्यक्ष पदमा कुमार घिमिरे र हरिशरण सुवेदीको प्रतिस्पर्धा हुने देखिएको छ । १ पदको लागि २ जना आकांक्षि देखिएपछि सहमति नहुँदा उम्मेद्वारी दर्ता भएको हो । 

 

त्यस्तै, लेखा समितिको संयोजकमा पनि यस अगाडि कोषाध्यक्षसहित समितिको जिम्मेवार निर्वाह गरेका कृष्ण बहादुर बस्नेत र दीपक दाहाल आकांक्षि हुँदा उम्मेद्वारी दर्ता भएको छ ।संयोजकमा प्रतिस्पर्धा हुने परिस्थिति बन्दा दुई सदस्य रामचन्द्र अधिकारी र निलराज फुयाँल भने निर्विरोध निर्वाचित भइसकेका छन् । 

 

आगामी २ वर्षे कार्यकालको लागि मन्थली बजारमा पानीको मात्र व्यवस्थापन गरी सहज यहाँका उपभोक्तालाई थप सेवा दिन यो समितिले काम गर्नु पर्ने दायित्व रहेको छ । अध्यक्षसहित १९ सदस्य यस समितिमा अध्यक्षले ३३ प्रतिशत महिलासहित ४ जना सदस्य (सह कोषाध्यक्ष) समेत अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था रहेको छ । 

मिलन घिमिरे (बि क)
| मंसिर ३०, २०८२ सोमबार
रामेछाप टाइम्स
| मंसिर २८, २०८२ शनिबार