आकांक्षीहरु ३ दर्जन नाघेपछि नेपाली कम्युनिष्ट पार्टी रामेछापले प्रत्यक्ष र समानुपातिकका आकांक्षिको संख्या सार्वजनिक नगर्ने
११ पुस, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उम्मेद्वारहरुको नामावली सिफारिस गरेको छ । यद्दयपी उम्मेद्वार बन्नेहरूको सूची तीन दर्जन भन्दा पनि बढी भएपछि नामावली भने सार्वजनिक नगर्ने भएको छ । यस अगाडि नेपाली काँग्रेस रामेछाप र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष र समानुपाति दुवैको नामावली सार्वजनिक गरेका थिए ।
शुक्रवार मन्थलीमा बसेको पार्टीको पूर्ण बैठकमा उम्मेद्वर बन्न सुझावसहितको धारणा लिएपछि आकाङ्क्षीहरूले प्रत्यक्ष र समानुपातिकको उम्मेद्वार बन्न पेस गरेको सूची लामो भएपछि कार्यदलले जिल्लामा नाम सार्वजनिक नगरी केन्द्र सिफारिस गरेको हो ।
रामेछाप टाइम्सले कार्यक्रम स्थलमै पुगेर दर्ता भएका उम्मेद्वारहरुको सूचीबारेमा बुझ्न खोज्दा नेताहरूले नाम सार्वजनिक गर्न आनाकानी मात्रै गरेनन् प्रष्ट रूपमा सार्वजनिक गर्न लाज हुने भन्दै ‘लिस्ट लामो छ । यो केन्द्रमा पटाउँछौँ । त्यसपछि मात्रै सार्वजनिक होला’ भने ।

जेन्जी आन्दोलनपछि नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित १० दल भन्दा बढी कम्युनिष्ट दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा रामेछापमा मात्रै ७ कम्युनिष्ट दलहरू एक बनेको अवस्थामा सातै दलबाट नेताहरू प्रत्यक्ष र समानुपातिकमा उम्मेद्वार बन्न आकांक्षि बनेपछि लिस्ट लामो भएको बुझिएको छ ।
आकाङ्क्षीहरूको संख्या ‘धेरै लामो भएपछि’ नेताहरूलाई नै थाहा नदिई एक कार्यदलले मात्रै ‘फाइल गोप्य राखेको’ पाइएको छ । ‘कार्यदलको बैठक जारी छ । बैठकले निर्णय गरेपछि मात्रै केही भन्न सकिएला तर अहिले त संख्या पनि भन्न मिल्दैन, सार्वजनिक नगर्ने भन्ने कुरा भएको छ’, एक नेताले भने ।
पार्टीमा आगामी निर्वाचनमा उम्मेद्वार बन्न कतिको उम्मेद्वारी पर्यो भन्ने रामेछाप टाइम्सको प्रश्नमा नेता श्याम कुमार श्रेष्ठ, देवशंकर पौडेल, अनन्त खड्का, रविन कार्की (नवीन) लगायतका नेताहरूलाई बुझ्दा ‘कति जना भन्ने बारेमा केही थाहा छैन । थाहा भएन’ भने ।
निर्वाचन आयोगले पर्सि आइतबार सम्म प्रत्यक्ष र समानुपातिकको सूची बुझाउन भनेकाले दबाबमा रहेको नेपाली कम्युनिष्ट पार्टीले शुक्रवार बैठक डाकेर आगामी निर्वाचन बारेमा नेताहरूको धारणा लिँदै निर्वाचनमा केन्द्रित हुन समेत नेता कार्यकर्तालाई आग्रह गरेको बुझिएको छ ।
