अन्ततः नेपाली कम्युनिष्ट पार्टी रामेछापका नेता श्रेष्ठले भने ‘तीन जेन्जीसहित १८ जनाको नाम सिफारिस गरेका छौँ’
११ पुस, रामेछाप । आगामी निर्वाचनमा उम्मेद्वार बन्न आकांक्षी धेरै भएपछि उम्मेद्वार बन्छु भन्नेहरुको नामावली र संख्या नै सार्वजनिक गर्न नचाहेको नेपाली कम्युनिष्ट पार्टी रामेछापले अन्ततः मिडियाको खबरदारीपछि संख्या भने खुलाएको छ। पार्टीले आगामी निर्वाचनमा उम्मेद्वारमा तीन जना जेन्जी युवासहित १८ जनाको नाम सिफारिस गरेको पार्टीका नेता एवं प्रदेश सांसद तारानारायण श्रेष्ठको भनाई छ ।
शुक्रवार मन्थलीमा बसेको नेपाली कम्युनिष्ट पार्टीको बैठकले २१ फागुनको प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक १० जनाको नाम सिफारिस गरिएको नेता श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । नेता श्रेष्ठका अनुसार जेन्जी रोशन कार्की, अनोज भुजेल र सुदिप खड्काले जेन्जी उम्मेद्वार भन्दै आफ्नो उम्मेद्वारी दिएकाले कुनै न कुनै ठाउँमा समावेश गर्ने गरी नाम पठाइएको हो ।
‘को–को आकांक्षी हुनुहुन्छ भनेर खुल्ला रूपमै बैठकमा आह्वान गरिएको र ज–जसले उम्मेद्वार बन्छु भनेर नाम/आवेदन दिए ती सबैको नाम टिपिएको हो । यसरी नाम टिपाएको दाबीसहित नेता श्रेष्ठले भने ‘प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ पार्टीले ८ जना र समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको छ ।’
उनले पार्टीले धेरै आकांक्षीहरु भएर नाम सार्वजनिक गर्न नचाहेको विषय उपयुक्त नभएको भन्दै नाम खुलाउन नमिले पनि संख्या खुलाउन कुनै समस्या नभएको तर्क गरे । शुक्रवार पूर्ण बैठक सम्पन्न भएपछि रामेछाप टाइम्सले दर्ता भएको संख्या र नामावली बारेमा जानकारी माग्दा नेताहरूले संख्या र नामावली बारेमा आनाकानी गरेका थिए ।
पछि सम्पर्कमा आएका पार्टीका नेता एवं प्रदेश सांसद श्रेष्ठले भने नामावली नखुलाए पनि संख्या खुलाउन समस्या नरहेको जिकिर गर्दै राष्ट्रिय सभामा १ जनासहित १९ जनाको नाम सिफारिस गरिएको बताए ।
स्रोतका अनुसार उम्मेद्वारी दर्ता भएका मध्येबाट कार्यदलले निर्णय गरेर सम्भावित ‘अनुहारहरूलाई’ केन्द्रमा सिफारिस गरेको बुझिएको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको लागि ५ जनाको नाम सिफारिस गर्नु पर्ने छ ।
