रामेछापको बाम्तिभण्डारमा मुस्लिम समुदायको ‘मस्जिद घर’, गाउँपालिका अध्यक्षले गरे उद्घाटन
२१ पुस, रामेछाप । रामेछापको बाम्तिभण्डारमा मुस्लिम समुदायको धार्मिक संस्था मस्जिद निर्माण गरिएको छ । उक्त भवनको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उद्घाटन गरेका छन् । गएको शनिवार उमाकुण्ड गाउँपालिका वडा नं २, बाम्तिभण्डारको रत्नज्योति बजारमै मस्जिद घरको एक भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
१९ वर्ष अगाडि वैदेशिक रोजगारीको लागि कुवेतमा पुगेका वडा नं ३, कुँबुँकांस्थलीका मानबहादुर दर्जीले वैदेशिक रोजगारीकै क्रममा रत्नज्योति बजारमा किनेको जग्गा मुस्लिम संस्थालाई दान गरेपछि संस्थासहितको लागतमा निर्माण गरिएको मस्जिद (पक्की भवनमाथिको मुस्लिम चिन्ह भएको) उद्घाटन गरिएको दर्जीले रामेछाप टाइम्सलाई बताए । ‘म काम गर्न कुवेत गएको थिए, त्यहाँ बस्दै जाँदा मलाई त्यो धर्मको बारेमा जानकारी भयो र राम्रो पनि लागेकाले हाम्रो परिवारै मुस्लिम बन्यौँ’, विदेश जानु अगाडि आफ्नो सबै परिवार हिन्दु धर्म मान्दै आएको सुनाउँदै दर्जीले रामेछाप टाइम्ससंग भने ।
आफूले गाउँपालिका अध्यक्षसहित उमाकुण्डका भद्रबलाद्मी सहितलाई डाकेको र ‘मुस्लिम समूह नेपाल’ संस्थाका प्रमुख तथा पदाधिकारीहरू समेत आएपछि उक्त मस्जिदको गाउँपालिका अध्यक्षले उद्घाटन गरेको दर्जीले सुनाए ।
बजारमा आफूले किने ४ आना २ दाम बराबरको जग्गा उक्त समूहलाई दान दिएपछि चन्दा र संस्थाको लागतमा भन बनाएको सुनाए पनि खर्चको यकिन तथ्याङ्क भन्न भने दर्जीले आनाकानी गरे । ‘ठ्याक्कै खर्च भन्न मैले पनि समूहका साथीलाई सोध्नु पर्छ ।’
३ जना छोरा रहेका दर्जीका जेठो छोरा अहिले पनि कुवेतमै रहेको सुनाएका दर्जीले कान्छा छोरा घरमै रहेको र अर्का छोरा भारतको गुजरातमा मुस्लिम धर्म बारेमा अध्ययन गरिरहेका सुनाए ।
श्रीमती र कान्छो छोरासहित रत्नज्योति बजारमा बस्दै आएको एक परिवारले हिन्दु र बौद्ध धर्मालवाम्बिको बर्चस्सो रहेको ठाउँमा मस्जिद ठड्याएपछि केही स्थानीहरू चकित परेका छन् । केहीले भने धार्मिक सहिष्णुता शब्दले पूर्णता यसरी नै पाउँछ भन्दै टीकाटिप्पणी गरिरहेका छन् ।
उमाकुण्ड गाउँपालिका जिल्लाकै हिमाली र दुर्गम पालिकाको रूपमा परिचित छ । यो पालिकामा विशेष गरी शेर्पा, तामाङ, सुनुवार, ब्राह्मण, क्षेत्री, विश्वकर्मा, परियार, न्यूनसंख्यामा राई र गुरुङ लगाएको बसोबास रहेको पाइन्छ । हिन्दु, बौद्ध र किराँत धर्मको बाहुल्यता रहेको यो पालिकामा इसाई धर्म (क्रिस्चियन) धर्म मान्ने संख्या बढ्दै गइरहेको अवस्थामा मुस्लिम धर्म मान्ने एक परिवार पनि थपिएको हो ।
