एमाले रामेछापले ‘उम्मेद्वार बन्छु’ भनेका यी आठै जनाको नाम केन्द्रमा पठायो (सूचीसहित)
२२ पसु, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आकांक्षिहरुको नामावली सिफारिस गरेको छ । ‘उम्मेद्वार बन्छु’ भनेर पार्टीको छैटौँ पूर्ण बैठकमा आफ्नो दाबी पेस गरेका जिल्ला कमिटीका निवर्तमान इन्चार्ज र प्रदेश कमिटीका बहालवाल अध्यक्षसहित ८ जनाको नाम केन्द्रमा पठाउने निर्णय गरिएको एमाले रामेछापले जनाएको हो ।
मंगलबार उम्मेद्वार सिफारिस गर्ने मुख्य एजेण्डासहित मन्थलीमा बसेको पार्टीको छैटौँ पूर्ण बैठकमा आफ्नो दाबी पेस गरेका पूर्व पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईं, पूर्व प्रदेश कमिटी सदस्य केशरबहादुर बुढाथोकी, पूर्व बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेल, भर्खरै सम्पन्न ११ औँ महाधिवेशनमा केन्द्रीय कमिटीको सदस्य बनेकी गीता कार्की र माधव ढुङ्गेल, बागमती प्रदेश कमिटी सदस्य परशुराम बस्नेत, रत्नप्रसाद गौतम र पूर्व प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलको नाम सर्व सहमतिले सिफारिस गरेको पार्टीको प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 
‘आजको बैठकको ऐजेण्डा नै उम्मेद्वार सिफारिस गर्ने गरी तय गरिएको थियो’, ऐजेण्डा अनुसार नै बैठक शान्तिपूर्ण रूपमा अगाडि बढेको र आकांक्षिहरुले आफ्नो दाबी प्रस्तुत गरेपछि फारम भरेका आठै जनाको नाम केन्द्र पठाउने निर्णय गरिएको हो’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने ।
एमाले रामेछापमा केही दिन अगाडि जिल्ला कमिटीले सचिवालय विस्तार गर्दा विधान भन्दा बाहिर गएर नेताहरूलाई जिम्मेवारी दिएको भन्दै केही नेताहरूले चर्चको विरोध गर्दै आएका छन् । उनीहरूकै कारण दुई दिन अगाडि नै बस्ने गरी तय गरिएको बैठक मंगलबार सम्म सार्नु पर्ने परिस्थिति बनेको बुझिएको छ । सोही परिस्थितिमा बसेको बैठकमा त्यस विषयमा भने कुनै छलफल नभएको प्रचार विभाग प्रमुख श्रेष्ठले स्पष्ट पारे ।

जेन्जी आन्दोलनपछि अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा १ मात्रै प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट उम्मेद्वार बन्छु भनेर ८ जनाले मात्रै मुख खोलेको र ती आठै जनाको नाम जस्ताको तस्तै केन्द्र पठाइएको उनको भनाई छ ।
निर्वाचन नजिकिएपछि पार्टीको गतिविधिलाई वडा तहसम्म पुर्याउन केही कार्यक्रमहरू तय गरिएको सुनाउँदै पुस २५ देखि ३० गते सम्म जिल्ला तहका नेताहरू वडा–वडा पुग्ने गरी योजना बनाइएको उनको भनाई छ ।
उम्मेद्वार बन्छु भनेर औपचारिक उद्घोष गरेपछि आकांक्षि नेताहरूले आफू उम्मेद्वार बन्न पाउनु पर्ने जिकिरसहित खुल्ला धारणा राखेको सुनाउँदै नेता श्रेष्ठले सुनाए ‘कसैले आफूले पार्टीलाई गरेको योगदान, आफू पुरानो नेता भएको स्मरण गर्ने देखि वर्तमान समयको आवश्यकता समेतको विषयहरु उल्लेख गर्नु भयो ।’
यस अगाडि औपचारिक रूपमै नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले रामेछापबाट आगामी निर्वाचनमा प्रत्यक्षे र समानुपातिक आकांक्षिको नाम केन्द्र सिफारिस गरिसकेका छन् भने जिल्लामा ७ दल मिलेर बनेको नेपाली कम्युनिष्टले भने जिल्ला तहमा स्पष्ट सार्वजनिक नगरी आन्तरिक रूपमा मात्रै केन्द्रमा पठाएको बुझिएको छ । हाल सम्म राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने प्रत्यक्ष र समानुपातिक उम्मेद्वार सिफारिसको विषयमा जिल्ला तहमा कुनै विषय सार्वजनिक गरेको छैन ।

