रामेछाप एमालेको इन्चार्जको जिम्मेवारी युवा नेता ढुङ्गेललाई

| पुस २२, २०८२ मंगलबार

A A A
A A A

२२ पुस, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी युवा नेता माधव ढुङ्गेलले पाएका छन् । उनी भर्खरै सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित युवा नेता हुन् । यस अगाडि नेता कमल प्रसाद चौलागाई एमाले रामेछापको इन्चार्जको भूमिकामा थिए । 

 

पार्टीमा केपी ओली निकटका युवा नेता ढुङ्गेल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । मंगलबार केन्द्रीय सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज पनि तोकेको थियो । सोही बैठकले उपत्यकासहित बागमती प्रदेशका १० जिल्लाको जिल्ला इन्चार्ज तोकिएको नेकपा एमालेले जनाएको हो । जिल्लामा अघिल्लो पुस्ताका नेताहरूको हाबी भइरहँदा पछिल्लो पुस्ता दाबी गर्दै आएका ढुङ्गेललाई जिल्ला इन्चार्ज तोक्नु युवाहरूको भावना र माग सम्बोधन गरिएको रूपमा व्याख्या गरिएको छ ।  

 

जिल्लाको खाँडादेवी गाउँपालिका निवासी ढुङ्गेल युवा पुस्तामा परिचित नेता हुन् । विगतमा केन्द्रीय संगठन विभाग (सचिव), विद्यार्थी विशेष जिल्ला कमिटी (इन्चार्ज), युवा विद्यार्थी विशेष जिल्ला कमिटी (इन्चार्ज), पेसागत जिल्ला कमिटी (इन्चार्ज), अनेरास्ववियु र त्यससँग सम्बद्ध संघसंगठनहरुको (इन्चार्ज), मिसन ग्रासरुट (सिन्धुपाल्चोक (मेलम्ची, हेलम्बु र पाँच पोखरी) को (इन्चार्ज) बनी आफ्नो जिम्मेवारी निर्वाह गरी सकेका ढुङ्गेल एमाले केन्द्रीय कमिटी सदस्य (२०७१ देखि हालसम्म), मिसन ८४ रामेछाप (रामेछाप, मन्थली, खाँडादेवी, दोरम्बा र सुनापती) इन्चार्ज), एमाले विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष (२०७०–७१), अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष तथा संयोजक (२०६७–२०७०), अनेरास्ववियु (केन्द्रीय कमिटी (महासचिव (२०६५–२०६७) लगायतका विभिन्न पदमा जिम्मेवारी निर्वाह गरी सकेका छन् । 

 

रामेछापबाट केन्द्रमा केपी ओलीसँग सिधै सम्पर्क राख्ने र ओलीका विश्वास पात्र मानिएका ढुङ्गेल जेन्जी आन्दोलनपछि निर्वाचन घोषणा भइसकेको अवस्थामा जिल्ला इन्चार्ज तोकिएका हुन् । यसलाई विशेष चासोका साथ लिइएको छ ।