नेपाली काँग्रेसको विशेष महाधिवेशन : २५ जना महाधिवेशन प्रतिनिधि रहेको रामेछापबाट पार्टी रूपान्तरण र पुस्तान्तरणको पक्षमा यी नेता खुले

| पुस २३, २०८२ बुधबार

A A A
A A A

२३ पसु, रामेछाप । नियमित महाधिवेशन असम्भव बनेपछि ‘विशेष महाधिवेशन’ मार्फतै पार्टीको नयाँ नेतृत्व बनाउन लागि परेको नेपाली काँग्रेस यति बेला चरम आन्तरिक द्वन्द्वमा रहेको छ । एक पक्ष रातदिन नभनी विशेष महाधिवेशनको पक्षमा दौडधुप गरी रहँदा अर्को पक्ष भने विशेष महाधिवेशनलाई रोक्दै पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा घोषित निर्वाचनका गतिविधिमा होमिने कसरतमा लागि परेको छ । यसले गर्दा पार्टी फुटकै चर्चा समेत उत्कर्षमा छ ।

 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टिमले विशेष महाधिवेशन अपरिहार्य बनिसकेको र देउवाकै नेतृत्वमा २१ फागुनको निर्वाचनमा मत माग्न जाँदा पुरानै शैली, पुरानै नेता र पुरानै प्रवृत्ति हुँदा पार्टीले हार बेहोर्ने दाबीसहित जेन्जी पुस्ताको माग, आवश्यकता र वर्तमान परिवेश अनुसार पार्टीलाई रूपान्तरण गरी नयाँ नेतृत्व खडा गर्नु पर्ने जोड् बलमा छन् । तर, २१ फागुनको निर्वाचन नजिकिँदा महाधिवेशनका लागि समय अपुग रहेको, जेन्जी आन्दोलनमा सभापति देउवाले अनपेक्षित क्षति बेहोर्नु परेको, मानसिक र भौतिक रूपमै विच्छिप्त बनेका अवस्थामा सामान्य मानवीयतालाई समेत ख्याल नगरी पदीय जिम्मेवारीलाई प्राथमिकतामा राखिनु उपयुक्त नहुने तर्कसहित आगामी निर्वाचनमा देउवाकै नेतृत्वमा जनता सम्म जानु पर्ने संस्थापन पक्षको अडान देखिन्छ । 

 

संस्थापन इतरकै रूपमा स्थापित भई विशेष महाधिवेशनको पक्षमा खुलेका गगन–विश्व समूहले भने यही पुसको २७ र २८ गते  विशेष महाधिवेशन गर्न हल समेत ‘बुकिङ’ गरी सकेको चर्चा छ । मिति नै तोकेर विशेष महाधिवेशनको तयारी तीव्र अगाडि बढ्दा केन्द्रमा शीर्ष नेताहरूको दौडधुप बाक्लो छ ।

 

यसअगाडि विशेष महाधिवेशन गर्ने पक्षमा जिल्ला–जिल्लामा गरिएको हस्ताक्षर संकलनबाट बहुमत प्राप्त गरेका गगन–विश्व प्रकाश समूहले २७ र २८ गते त्यो बहुमत प्रमाणित गर्न सक्ला कि नसक्लान् भन्ने नै अहिलेको मूल प्रश्न बनेको छ। ७७ जिल्लाबाट छानिएका महाधिवेशन प्रतिनिधिहरू आफ्नो पक्षमा उतार्दै ५१ प्रतिशत प्रमाणित गरेको खण्डमा विशेष महाधिवेशन सफल हुने नेपाली काँग्रेसको विधानमा व्यवस्था गरिएको छ । सोही अनुसार गगन–विश्व प्रकाशलाई ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौँ उतार्दै हस्ताक्षर गराउनु नै उनीहरूको लागि जित हुने छ । 

 

यस्तै सन्दर्भमा रामेछाप जिल्लाबाट पनि कति जना महाधिवेशन प्रतिनिधिहरू उनीहरूको पक्षमा हस्ताक्षर गर्न पुग्लान् भन्ने मुख्य चासोको विषय बनेको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापबाट कूल २५ जना महाधिवेशन प्रतिनिधि रहँदा गगन–विश्वप्रकाशलाई साथ दिन कतिले चाहेका छन् भन्ने कार्यकर्ता तहमै जिज्ञासा र चासो सुनिन्छ । अझ गगन–विश्व प्रकाश समूहले पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्दै समय सापेक्ष मूलक पार्टी बनाउन जोड् बल गरिरहेको बेला जिल्लाका कति महाधिवेशन प्रतिनिधि उनीहरूको पक्षमा उभिन्छन् भन्ने जिल्ला बासीसहित कार्यकर्ता तहमा समेत चासोको विषय बनेको छ । 

‘महाधिवेशन भइहाल्यो भने १५ जना मात्रै हैन २२ जना सम्म पुग्छौँ ।’

 

विशेष महाधिवेशन मागको पक्षमा गरिएको हस्ताक्षर संकलनमा १५ जनाले खुलेर हस्ताक्षर गर्दा बाँकी १० जना भने तटस्थ बसेका थिए । पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन गरी नयाँ, युवा पुस्ता र देशको अहिलेको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने पार्टी बनाउने आश्वासन बाँड्दा त्यसलाई रामेछापका कति जना महाधिवेशन प्रतिनिधिहरूले गगन–विश्वको परिवर्तनको आँटलाई साथ दिनुहुन्छ भनेर रामेछाप टाइम्सले गरेको प्रश्नमा हस्ताक्षर गर्ने १५ जनाले खुलेरै विशेष महाधिवेशनमा सहभागी हुने सुनाए । 

 

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेता भरत प्रसाद चौलागाई, अर्जुन केसी, कुमारी हायु, एन्जीला न्यौपाने (पौडेल), महेश कार्की, रामकुमारी डाँगी, जितेन्द्र मोक्तान, मिना कार्की, शुक्र माझीले स्पष्ट रूपमा पार्टी रूपान्तरको पक्षमा आफूहरू अडिक रहेको भन्दै विशेष महाधिवेशनमा सहभागी हुने बताए । नेता अर्जुन केसीले आफू जस्तो सुकै परिस्थितिको पनि सामना गर्ने बताउँदै विशेष महाधिवेशनमा सहभागी हुने प्रतिबद्धता सुनाएका हुन् । हस्ताक्षर अभियानमा खुलेर विशेष महाधिवेशनको माग गरेका नेता एवं महाधिवेशन प्रतिनिधि युवराज भट्टराई, टासी लामासंग भने सम्पर्क हुन सकेन । उनीहरु पनि महाधिवेशनमा जाने नेताहरुको दाबी छ। 

त्यस्तै जिल्लाबाट एक मात्रै लोपन्मुख समुदाय (हायु) बाट प्रतिनिधित्व गर्ने युवा नेतृ (महाधिवेशन प्रतिनिधि) कुमारी हायुले  पनि २५ गते नै काठमाडौँ पुग्ने सुनाइन् । ‘म काम विशेष नवलपरासीमा छु यहाँका साथीहरूसँग पनि छलफल भइरहेको छ । म २५ गते नै जाँदै छु’ देशभरबाट महाधिवेशनलाई सफल पार्न काँग्रेसी आउने विश्वास व्यक्त गर्दै नेतृ हायुले बताइन् । 

 

त्यस्तै, आफू एक्लै भए पनि हस्ताक्षर गरेको दायित्व पूरा गर्न महाधिवेशनमा जाने सुनाउँदै नेतृ एन्जीला पौडेलले भनिन् ‘विशेष महाधिवेशन अपरिहार्य बन्यो त्यसैले सिंगो पार्टी मिलेर विशेष गर्नु पर्छ’ । उनले देशले खोजेको काँग्रेस निर्माण गर्न विशेष महाधिवेशनको विकल्प अब नरहेको उल्लेख गरिन् । 

 

आफूले महाधिवेशन मागको पक्षमा हस्ताक्षर गरेको स्मरण गर्दै युवा नेता महेश कार्कीले पनि हस्ताक्षर गर्ने मात्रै नभएर सबै काँग्रेसी महाधिवेशन सफल पार्न लाग्नु पर्ने धारणा राखे । 

 

त्यस्तै, हस्ताक्षर गरेर पार्टी रूपान्तरको पक्षमा उभिएको दाबी गर्दै नेतृ रामकुमारी डाँगी र मिना कार्कीले पनि जसरी पनि महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे । 

 

सके सम्म आफू नियमित महाधिवेशनकै पक्षमा रहेको र त्यो सम्भव नरहेकाले विशेष महाधिवेशन गरेरै भए पनि पार्टीलाई नयाँ र चलायमान बनाउनु पर्ने पक्षमा आफू उभिएको नेता शुक्र माझीले बताए । २७ र ८२ को महाधिवेशनमा जाने प्रस्ट पार्ने युवा खेलाडी माझ परिचित माझीले सबै मिलेर पार्टीलाई नयाँ ढङ्गबाट लानु पर्नेमा जोड् दिए । 

 

समाजसेवी छवि बनाएका नेता भरत प्रसाद चौलागाईले विशेष महाधिवेशन भएमा हस्ताक्षर गरेका  १५ जना मात्रै नभएर २० जना भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन स्थलमा पुगेर पार्टी परिवर्तनको पक्षमा साथ दिने जिकिर गरे । ‘महाधिवेशन भइहाल्यो भने १५ जना मात्रै हैन २२ जना सम्म पुग्छौँ ।’

पर्खर हेरेको नीति लिएका नेताहरु, रामचन्द्र खड्का, झपटराज भण्डारी र विनिता खड्का  ।

 

विशेष महाधिवेशन मागको पक्षमा हस्ताक्षर गरेका जिल्लामा अग्रज नेताको रूपमा परिचित पूर्व पार्टी सभापति समेत रहेका नेता रामचन्द्र खड्का र नेता झपटराज भण्डारीले भने आफूहरू पर्ख र हेरको अवस्थामा रहेको धारणा व्यक्त गरेका छन् । रामेछाप टाइम्सको प्रश्नमा उनीहरुद्वयले भने ‘हामी सबै बिच कुनै त्यस्तै सामूहिक छलफल भएको छैन । आउँदो शुक्रवार सम्म एक छलफलपछि के गर्ने भनेर निर्णय गर्छौँ ।’

 

त्यस्तै नेतृ विनीता खड्काले पनि आफू पर्ख र हेरको स्थितिमा रहेको बताइन् । उनले आफू पार्टी फुटको पक्षमा नरहेको तर सैद्धान्तिक र परिवर्तनको पक्षमा रहेकाले केही दिनपछि मात्रै विशेष महाधिवेशन बारेमा आफू स्पष्ट हुने बताइन् ।