लिखु तामाकोशी गाउँपालिकाले सातै वडामा पुगेर ज्येष्ठ नागरिक र अपाङ्गताको ‘कार्ड’ वितरण गर्यो
२६ पुस, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले वडा–वडामै पुगेर अपाङ्ग र ज्येष्ठ नागरिकहरूलाई परिचय पत्र ‘कार्ड’ वितरण गरेको छ ।गएको पुस २० गते आइतबार वडा नं १ दुरागाउँदेखि सुरु गरेर शनिवार वडा नं ६, खिम्तीमा लागभ्राहीहरुलाई परिचय पत्र ‘कार्ड’ शिविर मार्फत वितरण गरिएको टोलीका प्रमुख अरुण खड्काले रामेछाप टाइम्सलाई बताए ।
उनका अनुसार वडा नं १ मा ७, २ मा ६ जना, ३ मा १६, ४ मा १५ जना, ५ मा ९ जना, ६ मा २९ जना र ७ मा ५० जना गरी कूल १३२ जना वृद्धवृद्धालाई ज्येष्ठ नागरिक कार्ड प्रदान गरिएको हो । त्यस्तै १ देखि ७ वटै वडाका ११ जना शारीरिक रूपमा अपाङ्गता भएका महिला तथा पुरुषलाई अपाङ्गता परिचय पत्र कार्ड वितरण गरिएको टोली प्रमुख खड्काको भनाई छ ।
अपाङ्गता परिचयपत्र प्राप्त गरेसँगै सेवाग्राहीहरूले राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सहुलियतपूर्ण सेवामा सहज पहुँच पाउने विश्वास गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि लक्षित वर्गलाई केन्द्रमा राखी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
व्यवसाय नवीकरण तथा सूचीकृत समेत गरिएको उक्त शिविर गाउँ–टोलमै पाएपछि स्थानीयहरू लाभान्वित बनेका हुन् । गाउँपालिकाले पालिकावासीलाई वडा स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले चालु आर्थिक वर्षमा विभिन्न शिविरहरू आयोजना गरेको गाउँपालिका अध्यक्ष केशव महतले बताए ।
उता जिल्लाकै दुर्गम क्षेत्रको पहिचान बोकेको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ भुजीमा पनि शनिबार देखि शिविर सुरु भएको छ । शनिबार कास्थेम माविमा सुरु भएको चार दिने स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच, मोतीबिन्दुको शल्यक्रिया, दाँतको उपचार तथा आवश्यक परे दाँत निकाल्ने सेवा संचालन हुने बताइएको छ ।
