निर्वाचन प्रहरीः रामेछापमा दोस्रो पटक म्याद थपेर माग गर्दा पनि किन आएनन् युवाहरु सम्पर्कमा, यस्तो छ कारण ?

| माघ ५, २०८२ आइतबार

A A A
A A A

०४ माघ, रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा तैनाथको लागि माग गरिएको निर्वाचन प्रहरी (म्यादी) मा फारम दोस्रो पटक म्याद थप्दा पनि माग गरिए बमोजिम पदपूर्ति हुन सकेन । पहिलो पटक माघ १ गते सम्म जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चौप्राङ समेतबाट आवेदन दिन सकिने गरी व्यवस्थापन गर्दा पनि माग गरिएको १३ सय ३३ मध्ये आधा–आधिको संख्यामा मात्रै सम्पर्कमा आएपछि दोस्रो पटक सूचना प्रकाशन गर्दै दुई दिन थप गरिएको हो । 

 

माघ ३ गते सम्म आवेदन दिन सकिने गरी आह्वन गरिएको सूचनापछि केही संख्या थप हुँदा कूल ९ सय ६० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सिनाले रामेछाप टाइम्सलाई बताए । 

 

https://ramdfo.gov.np

उनका अनुसार जिल्लाभरबाट १८ वर्ष उमेर पुगी नागरिकता प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्र भएका युवा र शारीरिक रूपमा तन्दुरुष्तहरुले सम्पर्क गर्न सकिने गरी आवेदन आह्वन गरिएको थियो । तर, गाउँ–घरमा युवाहरू सबै जसो वैदेशिक रोजगारीमा गएका र गाउँमा भएकाहरू पनि जेन्जी आन्दोलनपछि ‘विषम परिस्थितिमा’ यो निर्वाचन हुन लागेकाले युवाहरूको आकर्षण बन्न नसकेको बुझिएको छ । 

 

केही युवाहरू आउन चाहे पनि परिवारका सदस्यहरूले आउँदो निर्वाचनमा द्वन्द्व हुन सक्ने त्रासले पनि आफ्ना छोरा, छोरीलाई भर्ना हुन रोकी रहेको बुझिएको छ । आवेदन दिन मन्थली आएका खाँडादेवी गाउँपालिकाका ‘एक युवाले सुना मलाई त घरकाले जानै दिएका थिएनन् । मेरै बलजफ्तिले भर्न आएको’ सुनाए । 

 

नेपाल प्रहरीलाई १३ सय ३३ र सशस्त्र प्रहरीलाई ९६ जना गरी कूल १४ सय २९ जना निर्वाचन प्रहरी माग गरिएकोमा शनिवार अन्तिम दिन सम्म कूल ९ सय ६० जनाले आवेदन दिएको जिप्रका रामेछापका सूचना अधिकारी तिमिल्सिनाले रामेछाप टाइम्सलाई बताए । 

 

यसरी दोस्रो पटक म्याद थप गरी आह्वन गर्दा पनि आह्वन अनुसार संख्या आवेदन दिन नआएपछि आइतबार पनि सम्पर्कमा आए उनीहरूलाई समेत समेट्न सकिने सूचना अधिकारी इन्स्पेक्टर तिमिल्सिनाको भनाई छ ।