रामेछापमा एमालेले केन्द्रीय सदस्य माधव ढुङ्गेललाई बनायो संसद्को उम्मेद्वार

| माघ ५, २०८२ आइतबार

A A A
A A A

०४ माघ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रामेछापमा केन्द्रीय सदस्य माधव ढुङ्गेललाई आगामी निर्वाचनको उम्मेद्वार बनाएको छ । युवा नेता ढुङ्गेलले २१ फागुनको लागि प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको टिकट पाएका हुन् । उनी खाँडादेवी गाउँपालिका निवासी हुन् । 

 

उम्मेद्वार टुङ्गो लगाउन शनिवार बसेको पार्टीको केन्द्रीय तेस्रो सचिवालय बैठकले ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित युवा नेता ढुङ्गेललाई सांसद बन्ने उम्मेद्वारको टिकट दिएको हो । 

 

https://ramdfo.gov.np

एमालेबाट समाजसेवी एवं निर्माण व्यवसायी नेता रत्न गौतम, प्रदेशका पूर्व अर्थ मन्त्री कैलाश ढुङ्गेल लगायतले टिकट ल्याउने चर्चाका बिच उनीहरूलाई पछि पार्दै युवा नेता ढुङ्गेलले टिकट पाएका हुन् । ओलीका विश्वास पात्र ढुङ्गेल राष्ट्रिय युवा परिषद्को केन्द्रीय उपाध्यक्ष लगायत पार्टीको विभिन्न भूमिकामा जिम्मेवारी निर्वाह गरी सकेका युवा हुन् । 

 

उम्मेद्वारी दर्ताको दिन माघ ६ नजिकिँदै जाँदा एमालेले जिल्लाको उम्मेद्वार टुङ्गो लगाएपछि अन्य दलका उम्मेद्वारहरु को र कसले टिकट ल्याउँछन् भन्ने चर्चा चल्न थालेको छ । 

 

रास्वपाबाट मन्थली नगरपालिका वडा नं १२ गेलु घर भई लामो समयदेखि काठमाडौँ बसोबास गर्दै आएका बैंकर कृष्णहरि अधिकारीले टिकट पाएको चर्चा छ । राजनीतिमा खुलेरै मैदानमा नदेखिएका अधिकारी घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिन लागेको चर्चा छ । 

 

त्यस्तै नेपाली काँग्रेसबाट पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम), नेता भरत चौलागाई, जितबहादुर केसी, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, नेता आकाश भट्टराई र युवराज भट्टराई मध्ये एक जनाले टिकट ल्यान सक्ने बुझिएको छ । 

 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्व माओवादी निकट श्याम कुमार श्रेष्ठ, एकीकृत समाजवादी निकट होम बुढाथोकी, पूर्व सांसद देवशंकर पौडेल मध्ये एकले टिकट ल्याउन सक्ने दाबी गरिएको छ । यसले रामेछापमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ ।