रामेछापमा प्रहरी र प्रशासनको एकै स्वर : ‘सुरक्षा व्यवस्थामाथि आशंका गर्नु पर्दैन, ढुक्क भएर निर्वाचनमा जुटौँ’
०४ माघ, रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै चौतर्फी आशंका र प्रश्न उब्जिरहेका बेला रामेछापका सुरक्षा निकायहरूले भने सुरक्षा व्यवस्था कडा पारिएको धारणा व्यक्त गरेका छन् । सबै सुरक्षा निकायहरूले सुरक्षा बलियो बनाउनको लागि ‘गोप्य रूपमा’ सुरक्षा रणनीति तयार पारेको बताएका हुन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा मुख्य जिल्ला निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछाने, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकार एवं सञ्चारकर्मीहरूको उपस्थितिमा भएको निर्वाचन आचारसंहिता विषयक छलफलमा बोल्दै रामेछापका प्रहरी प्रमुख (डिएसपी) भोला कुमार भट्टले भने ‘हामीले आन्तरिक रूपमा सुरक्षाको लागि रणनीति तय गरि सकेका छौँ’, सुरक्षाको व्यवस्थालाई थप प्रभावकारी बनाउनको लागि आन्तरिक तयारी गरिरहेको उल्लेख गर्दै प्रहरी प्रमुख भट्टले थपे ‘हामी सबै तयारी बारेमा सार्वजनिक गर्दैनौँ’ ।
सुरक्षा रणनीति सार्वजनिक गर्दा त्यो असफल हुने सम्भावनालाई मध्य नजर गर्दै गोप्य रूपमा निर्वाचन लक्षित तयारी तीव्र पारिएको उनको दाबी छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी थापाले पनि जिल्लाका चार वटै सुरक्षा संयन्त्रहरू तदारुकताको साथ लागि परेको बताउँदै सुरक्षाको हिसाबले बलियो रहेको धारणा व्यक्त गरे । ‘हामी चार वटै सुरक्षा निकायहरू मिलेर काम गरिरहेका छौँ’ । निर्वाचनलाई सफल पार्न सबै सचेत र सतर्क रहेको बताएका सिडिओ थापाले राजनीतिक दल र पत्रकारसहित आमनागरिकहरु समेत सुरक्षाको लागि उत्तिकै जिम्मेवार रहेको तर्क गरे । निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष रूपमा सफल पार्न बसै आ–आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड् दिएका सिडिओ थापाले भने ‘हामीले आन्तरिक सामाजिक संजाललाई समेत निगरानी गर्ने गरी एउटा टिम तयार गरेका छौँ र त्यसले गोप्य रूपमा काम गरी रहेको छ।’
गत भदौ २४ अगाडि देखि नै आफूहरूले गोप्य रूपमा काम गर्दै आएकाले पनि रामेछापमा क्षेति कम भएको दाबी गरेका सिडिओ थापाले जेन्जी आन्दोलन पछि हुन लागेको २१ फागुनको निर्वाचन पनि रामेछापमा सफल हुने विश्वास व्यक्त गरे । ‘सुरक्षाको लागि त्यस्तो धेरै चिन्ता गर्नु पर्छ जस्तो लाग्दैन । हामी सबैले जिम्मेवार तरिकाले प्रस्तुत भयौँ भने मात्रै पनि सफल हुन्छौ ।’
राज्यका निकायहरूले जिल्लाको सुरक्षा व्यवस्था कडा र निर्वाचनको लागि ढुक्क हुने परिस्थिति छ भन्ने दर्शाउन खोजे पनि राजनीतिक दल र पत्रकारहरूले भने सुरक्षा व्यवस्थालाई लिइएर सचेत रहन प्रहरी र प्रशासनको ध्यानाकर्षण गरे । एक पत्रकारले जेन्जी आन्दोलन पछिको वर्तमान अवस्थामा जिल्ला न्याधिशलाई नै कारागारको अनुगमन गर्न रोक लगाइएको अवस्था सुनाउँदै त्यस्ता त्रास र भयबाट कसरी निर्वाचन गर्न सकिन्छ भन्दै प्रश्न गरे । उनले जिल्लाका विभिन्न वडामा चोरीका घटना हुनु र कुटपिट समेत भइरहेको भन्दै यस्ता स–सा घटनालाई गम्भीर रुपले अनुसन्धान गरेर निर्मूल पारी आपराधिक मानसिकता भएकाहरूलाई ‘काबुमा’ लिनु पर्नेमा जोड् दिए ।
त्यस्तै राजनीतिक दलका नेताहरूले पनि राज्यले निर्वाचनको वातावरण बनाउँदै सुरक्षालाई दृढ रूपमा लागू गरी निष्पक्ष र भए रहित वातावरणमा चुनाव गर्न लाग्न आग्रह गरे । त्यसमा आ–आफ्नो पार्टीको तर्फबाट प्रतिबद्धता जनाउँदै नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले सुरक्षालाई सफल पार्न सुरक्षा रणनीति सार्वजनिक गर्न आग्रह गरे ।
