मलाई जस्तै रामचन्द्र दाइलाई पनि भोट दिएर जिताइ दिनुस्: सभापति कान्छाराम
०६ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले काँग्रेसका उम्मेद्वार रामचन्द्र खड्कालाई आफूलाई जस्तै मत दिएर जिताइदिन मत मागेका छन् । नेपाली काँग्रेसका उम्मेद्वार खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार मनोनयन दर्ता गरेपछि मन्थली देवकोटा चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै पूर्व राज्य मन्त्री समेत रहेका सभापति तामाङले भने ‘मलाई जसरी भोट दिनु भयो, त्यसै गरी रामचन्द्र दाइलाई पनि मत दिएर जिताइदिनु होला ।’
पूर्व पार्टी सभापति खड्कालाई पार्टीले टिकट दिएर उम्मेद्वार बनाएपछि जसरी पनि रुख चिन्हका उम्मेद्वारलाई जिताउने आफूहरूको कर्तव्य रहेको तर्क गर्दै सभापति तामाङले थपे ‘२१ गते बिहानै देखि लाइन बसेर रामचन्द्र दाइलाई भोट हालिदिनुस्’ । आफूले टिकट नपाएको प्रशंगमा टिकट पाएका व्यक्तिले सबैसङ मिलेर सहकार्य गर्दै जानु पर्ने उनको तर्क छ ।

आफूलाई पनि एक पटक रामेछापले जिताएर पठाएको र त्यसै गरी पूर्व सभापति खड्कालाई पनि जिताइ दिन सभापति तामाङले दोहोर्याए । ‘सबैलाई आग्रह गर्दछु एक पटक दाइलाई जिताइदिनुस्’ भने ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाँदा पार्टी कार्यालय बिपी स्मृति भवनदेखि अदालत अगाडि सम्म र्याली निकालेको काँग्रेस रामेछापले अब पार्टी एक ढिक्का भएर निर्वाचनमा लागेको उद्घोष गरेको हो ।
