रामेछापमा तीन स्वतन्त्र सहित १७ जनाको उम्मेद्वारी दर्ता
०६ माघ, रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ रामेछापमा तीन स्वतन्त्रसहित १७ जनाको उम्मेद्वारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार नेपाली काँग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधव ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्याम कुमार श्रेष्ठ ‘कुशल’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.कृष्णहरि बुढाथोकीले आयोगको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गरेका हुन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, उज्यालो नेपाल पार्टीबाट दिपबहादुर योन्जन, श्रम संस्कृति पार्टीको तर्फबाट ढालबहादुर खपाङ्गि मगर, प्रगतिशील लोकतन्त्र पार्टीको तर्फबाट वीरेन्द्र श्रेष्ठ, नेशनल रिपब्लिक नेपाल पार्टीको तर्फबाट यमबहादुर मोक्तान, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट विनोद घिसिङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीको तर्फबाट यमनबहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाको तर्फबाट अर्जुनबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीको तर्फबाट केशरी श्रेष्ठ र आम जनता पार्टी (एकल चुनाव चिन्ह) को तर्फबाट पदमबहादुर तामाङले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ ।
मंगलबार बिहान १०ः३० बजेदेखि सुरु गरिएको मनोनयन दर्तामा स्वतन्त्र उम्मेदवारको तर्फबाट अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरेले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । मनोनय दर्ता गरेका सबै उम्मेद्वारहरुले आफूले जित्ने दाबी गरेका छन् ।


