रामेछापमा उम्मेद्वारी दर्ता गर्न हिँडेको नेकपा एमाले र रास्वपाको र्यालीमा लफडा
०६ माघ, रामेछाप । मनोनयन दर्ता गर्न जाँदा सडकमा दुवै पार्टीको र्याली भेट भएपछि रामेछापको मन्थलीमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच लफडा भएको छ । रास्वपाले एमालेका कार्यकर्ताले आफूहरूका सदस्यमाथि हातपात गरेको आरोप लगाएको छ । यद्दयपी, नेकपा (एमाले) रामेछापले भने त्यस्तो ठुलो हातपात नभएको तर ‘सामान्य प्रकृतिको विवाद’ हुन खोजेको तर्क गरेको छ ।
मंगलबार नेकपा एमाले रामेछापले माधव ढुङ्गेलको मनोनयन दर्ता गर्न पार्टी कार्यालय कटहरको बोट तर्फबाट देवकोटा चोक तर्फ र्याली अगाडि बढाएको र रास्वपा रामेछापले पनि डा.कृष्णहरि बुढाथोकीको मनोनयन दर्ता गर्न र्याली बजार परिक्रमा गर्ने क्रममा मन्थली बिच बजार हुँदै कटहरबोट तर्फ बढ्ने क्रममा दुई पार्टीको र्याली भेट भएपछि केही छिन लफडा भएको बुझिएको छ । उक्त लफडामा एमालेका कार्यकर्ताहरूले आफ्ना केही कार्यकर्तालाई कुटपिटै गरेको आफूहरुसंग प्रमाण रहेको रास्वपा रामेछापका सभापति रमेश रायमाझीले पत्रकारहरूसँग सुनाए ।
नेकपा (एमाले) बाट आफूहरूमाथि दुर्व्यवहार र हातपातै भएको उनको जिकिर छ । त्यस्तै रास्वपाकी नेतृ समीक्षा श्रेष्ठ मुख्य निर्वाचन परिसरमै नेकपा (एमाले) का कार्यकर्ताहरूबाट रास्वपा माथि आक्रमण भएको भन्दै अन्याय विरुद्ध बोल्न साथ चाहियो भनिन् । यसोत, रास्वपाका कार्यकर्ताले र्यालीमै नेकपा एमालेका कार्यकर्ता आफूहरू माथि आक्रमण गरेको भन्दै विरोध र असन्तुष्टि पोख्दै नाराबाजी गरेका छन् ।
त्यस्तै, र्यालीमा नेकपा (एमाले) रामेछापले रास्वपा माथि प्रहार गरेकोमा प्रेस विज्ञप्ति नै जारी गर्दै रास्वपाले निन्दा गरेको छ । किन यसरी लफडा हुन पुग्यो भन्ने विषय प्रष्ट नखुले पनि एमाले निकट डा.कृष्णहरिलाई रास्वपाले उम्मेद्वार बनाएपछि सांगाठानिक असन्तुष्टि हुन सक्ने रास्वपाले दाबी गरेको सभापति रायमाझीले तर्क गरे ।
यसै विषय नेकपा एमालेका नेताहरूसँग बुझ्दा उनीहरूले र्याली जम्का भेट भए पनि सामान्य ठेलमेल मात्रै भएको जिकिर गरे । एमाले रामेछापले उक्त विषय बाहिर ल्याए जस्तो गम्भीर नरहेको तर्क गर्दै सामान्य विषयलाई बढाई चढाई गरिएको दाबी गरे ।

