रामेछापका तीन स्वतन्त्र उम्मेद्वारले पाए केबल कार, कैँची र त्रिभुज चुनाव चिन्ह

| माघ १०, २०८२ शुक्रबार

A A A
A A A

०९ माघ, रामेछाप । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १४ वटा विभिन्न राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको जानकारी दिएको हो ।

 

शुक्रबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले दिएको जानकारी अनुसार आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य रहेको भन्दै रास्वपा कै विरुद्ध बागी उम्मेद्वारी दिएको दाबी गर्ने स्वतन्त्र उम्मेदवार अरुण कार्कीलाई ‘केबल कार’ चुनाव चिन्ह प्रदान गरिएको छ । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार बाबुकाजी खड्कालाई ‘कैँची’ र स्वतन्त्रतै उम्मेदवार सन्तोष घिमिरेलाई ‘त्रिभुज’ चिन्ह प्रदान गरिएको छ । उनीहरूले रोजेको आधारमा चुनाव चिन्ह पाएका हुन् ।

 

https://ramdfo.gov.np

जिल्लामा मुख्य चुनावी प्रतिस्पर्धाका प्रमुख आंकलन गरिँदै आएको नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र खड्कालाई ‘रुख’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) एवं नेकपा (एमाले) का उम्मेदवार माधव प्रसाद ढुङ्गेललाई ‘सूर्य’ चिन्ह पाएका छन्। 

 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका श्याम कुमार श्रेष्ठले ‘तारा’, रास्वपाका उम्मेदवार डा.कृष्णहरि बुढाथोकीले ‘घण्टी’, राप्रपाका उम्मेदवार गोरे तामाङले ‘हलो’, श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गि मगरले ‘अँजुलीमा रहेको माटो’, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिपबहादुर योन्जनले ‘बलिरहेको बिजुलीको चिम’ चुनाव चिन्ह पाएका छन् । 

 

त्यस्तै, आम जनता पार्टीका उम्मेदवार पदमबहादुर तामाङले ‘मोबाइल’, प्रगतिशील लोकतान्त्रिक पार्टीका वीरेन्द्र श्रेष्ठले ‘खुलेको एकल आँखा’, नेशनल रिपब्लिकन नेपालका उम्मेदवार यमबहादुर मोक्तानले ‘उडिरहेको माउरी’ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार अर्जुन बहादुर थापा मगरले ‘गिलास’ चुनाव चिन्ह पाएका छन्।

 

त्यस्तै, जिल्लाकै एक मात्रै महिला उम्मेदवार केशरी श्रेष्ठ एवं नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’, नेपाल कम्युनिष्ट पार्टी माओवादीका यमनबहादुर बस्नेतले ‘गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल’ र मंगोल नेसनल अर्गनाइजेशन पार्टीका उम्मेदवार विनोद घिसिङले ‘कुखुराको भाले’ निर्वाचन चिन्ह पाएका छन् ।