रामेछाप नगरमा भैँसी प्रवर्द्धन कार्यक्रमले दूध उत्पादन ह्वात्तै बढ्यो: डेरीले लिन मानेन भनेपछि हाकिम र वडा अध्यक्षले यसो भने ?

| माघ १२, २०८२ आइतबार

A A A
A A A

११ माघ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाका दूध उत्पादक किसानहरूले दूध बिक्री नभएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले अघिल्लो वर्ष व्यवसायीक भैँसी पालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी दुना भैँसी हस्तान्तरण गरेपछि नगरको दूध उत्पादन बढेको हो । 

 

शनिवार वडा नं ७ सुकाजोर वडा कार्यालयले गरेको चालु आर्थिक वर्षको दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीयहरूले आफूहरूले उत्पादन गरेको दूध बजारका डेरीले लिन नमानेको गुनासो गरेका हुन् । आफूले उत्पादन गरेको डेरीले लिन नमानेको सुनाउँदै स्थानीय लालबहादुर कार्कीले भने ‘चिसो मौसम लागेदेखि दूध बिक्री हुनै छाड्यो, डेरीले आधा मात्रै दूध लिँदा हामीलाई समस्या भएको हो’ ।

 

विगतमा डेरीहरूले किसानले जति पनि दूध उत्पादन गर्छन् सबै किन्दिन्छौ’, दूध बिक्रीको लागि अन्त जानू पर्दैन भन्दै आए पनि उत्पादन बढेपछि पुरानो सदरमुकाममा दूध बिक्री हुन नसकेको स्थानीयहरूको गुनासो छ । 

मुख्य केन्द्र मन्थलीमा रहेको चिरञ्जीवी डेरीले शाखा कार्यालय मार्फत रामेछाप बजारमा दूध संकलन गर्दै आएको छ । दैनिक करिब ५०० लिटर दूध उत्पादन हुँदै आएको रामेछापमा ८९ जना किसानले भैँसीको गुणस्तरीय दूध उत्पादन गर्न लागेका हुन् । तर, डेरीले दैनिक १५० लिटर मात्रै खरिद गर्ने योजना अनुसार संकलन गर्न लागेपछि दूध बिक्रीको लागि किसानहरूले वडाको सहयोग मागेका छन् । 

 

अर्का किसान शंकर बहादुर थापाले भने ‘उत्पादन भएको दूध बजार सम्म लानको लागि कृषि एम्बुलेन्स छ । तर, यो केही मानिसहरूको मात्रै पकड्मा हुन पुग्यो त्यो बाट माथि उठेर वडाले उत्पादन भएको दूध बिक्री गर्न निःशुल्क रूपमा किसानले पाउनु पर्‍यो ।’

 

उनीहरूले कृषि एम्बुलेन्सको सहयोगमा उत्पादन भएको दूध बजार सम्म पुर्‍याएर बिक्री गर्नु पर्ने माग गरे । किसानहरूले अघिल्लो वर्षको भैँसी प्रवर्द्धन कार्यक्रममा पनि स्थानीय तहको खबरदारी आवश्यक परेको भन्दै अनुगमन र निगरानी गर्न नगरको ध्यानाकर्षण गरे । 

 

किसानको दूध लिन डेरीले आनाकानी गरेको र भैँसी प्रवर्द्धन कार्यक्रम विषयमा आफूहरूले नजिकबाट नियाली रहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले निराकरण गर्ने प्रतिबद्धता जनाए । उनले भने ‘यो विषयमा हामी जानकार भयौँ दूध लिन नमानेको विषयमा हामी तत्काल डेरीसँग छलफल गरेर समाधान खोज्छौँ । एक पटक हामीले कुरा पनि गरेका छौँ’, वितरण गरिएका भैँसी केही किसानहरूले सम्झौता विपरीत कार्य गरेको विषय उल्लेख गरेका प्रमुख प्रशासकीय अधिकृत चापागाईँले प्रस्ट पार्दै भने ‘यो विषयमा एउटा समितिले गोप्य रूपमा काम गरिरहेको छ। गल्ती गर्नेले अनुदान पूरै फिर्ता गर्नु पर्छ, गराउँछौँ ।’

 

त्यस्तै, वडा अध्यक्ष समीर कार्कीले पनि किसानहरूकै मागलाई पहिलो प्राथमिकता दिएको बताउँदै नियम अनुसार कृषि एम्बुलेन्स सञ्चालन गराउने व्यवस्था गर्ने आश्वासन दिए । किसानका मागलाई स्थानीय सरकारले निराकरण गर्ने र प्रोत्साहनका कार्यक्रम अगाडि गरिरहेको दाबी गर्दै थप सुधार गरेर जान आफूहरू तयार रहेको वडा अध्यक्ष कार्कीको भनाई छ ।

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार