नेकपा रामेछापले बनायो १३ सय ९९ जनाको ‘जम्बो निर्वाचन परिचालन’ कमिटी, प्रवक्ता बने कँडेल
झम्क कँडेल, नेकपा प्रवक्ता ।
१२ माघ, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आगामी निर्वाचनको प्रचारप्रसार गर्न ‘जम्बो निर्वाचन परिचालन कमिटी’ घोषणा गरेको छ । नेकपा रामेछापले नेता होमबहादुर बुढाथोकीको संयोजकत्वमा १३ सय ९९ जना सदस्यीय कमिटी घोषणा गरेको निर्वाचन कमिटी प्रवक्ता झम्क कँडेलले बताए । ‘तपाईँहरूलाई यो ठुलो लाग्न सक्छ, तर सबै तहका नेताहरूलाई जिम्मेवारी दिँदा, मिलाउँदा यस्तो बन्यो’ ।
उनका अनुसार पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरूलाई समेटेर ‘ठुलो निर्वाचन’ परिचालन कमिटी बनाइएको हो । सोही बैठकले निर्वाचन कमिटीको प्रवक्ताको जिम्मेवारी तोकेका नेता कँडेलका अनुसार पवन कार्की र विकास पौडेलको संयोजकत्वमा तीन सदस्यीय सचिवालय गठन गरिएको छ । कानुन व्यवसायी समेत रहेका कँडेलले नेकपाको प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
माघ ६ गते श्याम कुमार श्रेष्ठको उम्मेद्वारी दर्तापछि आइतबार खिम्तीबाट चुनावी प्रचारै थालेको नेकपा रामेछापले चुनावी प्रचारलाई तीव्र पार्न पत्रकार सुमित श्रेष्ठको संयोजकत्वमा कैलाश खत्री र सौजन्य प्रसाद सत्याल सदस्य रहेको तीन सदस्यीय निर्वाचन प्रचारप्रसार कमिटी पनि गठन गरेको प्रवक्ता कँडेलले जानकारी गराए ।

त्यस्तै बैठकले आर्थिक परिचालन कमिटी पनि गठन गरेको र उक्त कमिटी परिपूर्ति हुने क्रममा रहेको प्रवक्ता कँडेलले बताए । त्यस्तै नेकपाले स्पेसल टास् फोर्ड पनि गठन गरेको बताए पनि त्यसमा को–को छन् भने खुलाएनन् । ‘यो कमिटीले उम्मेदवारको सुरक्षा र प्रतिद्वन्द्वीहरूबाट सुरक्षित गर्न काम गर्छ’।
त्यस्तै, प्रदेशका सांसद तारानारायण श्रेष्ठ, युवराज चौलगाई र रवीन्द्र पौडेल सदस्य रहेको कमिटीले पार्टीका उम्मेदवारले जितेपछि के गर्ने भन्नेबारेमा नीति, योजना एवं घोषणा पत्र लेख्ने कमिटी गठन गरेको प्रवक्ता कँडेले जानकारी दिए । पार्टी कार्यालयमा सोमबार पत्रकार भेटघाट गर्दै सार्वजनिक गरिएको उक्त निर्णय निर्वाचन आफ्नो पक्षमा पार्न रहेको जिकिर गरे ।
निर्वाचन परिचालन कमिटीलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न पार्टी इन्चार्ज देवशंकर पौडेलको नेतृत्वमा एक कमिटी तयार रहेको सुनाउँदै प्रवक्ता कँडेलले भने ‘यो कमिटी कामकाजी र सानो आकारको छ।’
प्रवक्ता कँडेलका अनुसार आइतबार देखि सुरु गरिएको मतदाता भेटघाट कार्यक्रम फागुन ११ गते सम्म जनताको घरदैलोमा पुग्ने र निर्वाचन आचारसंहिता पालना गर्दै हिँड्ने उनको भनाई छ ।
