‘किसानलाई राज्यले नै पीडित बनाएको छ’
फाइल तस्बिर
१३ माघ, रामेछाप । वरिष्ठ पशु चिकित्सक राकेश प्रजापतिले राज्यले नै किसानहरूलाई पीडित बनाउने काम गरेको धारणा राखेका छन् । उनले भने ‘वास्तवमा यो देशमा किसानहरूलाई राज्यले नै उपेक्षा गरेकै हो ।’
सोमबार पशु सेवा कार्यालय सिन्धुलीको सम्पर्क कार्यालय मन्थलीमा आयोजित प्रदेश र स्थानीय तहका कार्मचारीरहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चिकित्सक प्रजापतिले कृषि नीति समय सापेक्षित नरहेको धारणा राखेका हुन् । जिल्लाका स्थानीय तहका पशु शाखाका प्रमुखहरू समेतको उपस्थितिमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सार्क–आर.एस.यु (त्रिपुरेश्वर) ले बेला बखत बंगुर, कुखुरा, गाई, भैँसी सहित अन्य घरपालुवा जनवारमा फैलिने रोगहरूको न्यूनीकरणको लागि किसानहरू सचेत हुँदै रोकथामको लागि खेल्न सकिने उपायका बारेमा जानकारी गराउँदै डा.प्रजापतिले थपे ‘यस्ता रोगहरू बारेमा समयमै सचेत भयौँ भने हामीले ठुलो क्षति रोक्न सक्छौँ ।’
हाल पशुमा फैलिने यस्ता रोगको उपचार गर्न सक्ने उच्च प्रविधिको विकास गरी सकिएकाले रेबिज, बड्फूल्यो, खोरेत जस्ता विभिन्न रोगको लक्षण देखिने बित्तिकै नमुना संकलन गरेर पठाए उक्त रोगहरू पत्ता लगाएर पूर्ण रूपमा निराकरण गर्न सकिने उनको प्रतिबद्धता रहेको छ ।
विगतमा पनि लामो समय रामेछापमा बसेर यहाँका पशु र कृषि क्षेत्रको बारेमा जानकार वरिष्ठ चिकित्सक प्रजापतिले नेपाल सरकारले पशु रोग निदान गर्ने विषादी, औषधि उत्पादन पर्याप्त गरी सकेकाले अब बंगलादेश निर्यात गर्ने चरणमा रहेको जानकारी गराए । ‘हामीले राम्रो देशलाई मात्रै है अब विदेश निर्यात गर्ने गरी यस्ता पशु रोगका उपचार विधिका औषधि बनाइरहेका छौँ’, बंगलादेश निर्यात गर्नको लागि कानूनी अड्चन खुलाउने काम भइरहेको जानकारी गराउँदै भने ‘अब बंगलादेश निर्यात काम भइरहेको छ।’
