जन्मदरमा ऋणात्मक रामेछापमा देशभरिकै सबै भन्दा धेरै मतदाता
फाइल फाेटाे
२१ माघ, रामेछाप । जनसंख्या न्यून एवं जन्मदर ऋणात्मक रहेको देशभरिको तथ्याङ्कमा देशकै अग्रस्थानमा रहेको रामेछापमा मतदाता भने देशकै सबै भन्दा धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । मंगलबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा रामेछापमा ७७ जिल्ला मध्ये सबै भन्दा बढी मतदाता भएको जिल्लामा पहिलो नम्बरमा देखिएको हो। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा देशभरकै सबै भन्दा धेरै १ लाख ७८ हजार ९५२ जना मतदाता रहेका छन् । तीन जना स्वतन्त्र उम्मेदवार र १४ राजनीतिक दलका नेताहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेको रामेछापमा जित्नको लागि मत संख्या बढाउनु पर्ने दबाब उम्मेदवारलाई थपिएको हो । आयोगका अनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् ।
२०७८ सालको जनगणना अनुसार पछिल्लो १० वर्षमा रामेछापमा सबैभन्दा धेरै जनसंख्या घटेको तथ्यांकले पुष्टि गरेको थियो । रामेछापको जनसंख्या २०६८ मा २ लाख २ हजार ६ सय ४६ जना रहेकामा घटेर २०७८ सालको जनगणनामा १ लाख ७० हजार ३ सय २० जनामा झरेको थियो । अघिल्लो जनगणनासँग तुलना गर्दा रामेछापको जनसंख्या वृद्धिदर १.६७ प्रतिशतले ऋणात्मक छ ।
देशकै सबै भन्दा बढी मतदाता रहेको रामेछापमा ९६ हजार ८९२ जना पुरुष र ९१ हजार ६० जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए । १ लाख ८९ हजार बढी मतदाता रहेको रामेछापमा दुई नगरपालिका र छ गाउँपालिकाका ६४ वटै वडामा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र यस अगाडि नै निर्धारण गरी सकिएको छ।
मतदाता उल्लेख्य रहेको रामेछापमा गत निर्वाचनको तुलनामा दुई वटा मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकृत लामिछानेले प्रष्ट परे । मतदातालाई सहज, सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्नको लागि मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकृत लामिछानेको भनाई छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताको तथ्यांकअनुसार धेरै मतदाता हुने निर्वाचन क्षेत्रको सूचीमा दोस्रो स्थानमा अर्घाखाँची–१ र तेस्रो स्थानमा दोलखा–१ रहेका छन्। त्यस्तै, सबैभन्दा कम मतदाता सङ्ख्या मनाङ जिल्लामा रहेको छ, जहाँ करिब ७ हजार मतदाता मात्र छन् ।
