काँग्रेस रामेछापको चुनावी परिचालनमा ‘सशक्त टिम’, सभापति ‘कान्छाराम’ले हाँक्दै चुनाव, जेन्जीलाई समेटेर गठन गर्‍यो २२ उपसमिति

| माघ २३, २०८२ बिहिबार

A A A
A A A

२२ माघ, रामेछाप ।  काँग्रेस रामेछापको चुनावी परिचालनमा ‘सशक्त टिम’, सभापति ‘कान्छाराम’ले हाँक्दै चुनाव, जेन्जीलाई समेटेर गठन गर्‍यो २२ उपसमिति  नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि २३ वटा समिति गठन गरेको छ । पार्टीका पूर्व सभापति समेत रहेका अग्रज नेता रामचन्द्र खड्कालाई विजयी गराउनको लागि पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को नेतृत्वमा ‘महत्त्वपूर्ण’ जिम्मेवारीसहितको जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको पार्टी सचिव विनोद कार्कीले बताए । सचिव कार्कीका अनुसार यो समितिले उम्मेदवार खड्कालाई विजयी गराउन महत्त्वपूर्ण र निर्णायक निर्देशनसहित चुनावी रणनीति र पार्टीका सबै तहका संघसंगठनहरुलाई परिचालित गर्ने छ । 

 

सोमबार साँझ पत्रकार हिमाल ढुङ्गेलको संयोजकत्वमा रहेको पार्टीको निर्वाचन प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकारसँग उम्मेदवार भेटघाट कार्यक्रममा पार्टीका कार्यवाहक सभापति नवराज थोकरको सभापतित्वमा बसेको पछिल्लो बैकका निर्णयहरू सार्वजनिक गर्दै सचिव कार्कीले भने ‘हामीले यो निर्वाचनलाई सशक्त पार्नेको लागि पार्टीका सभापति देखि जेन्जी युवाहरूलाई समेत जिम्मेवारी दिएर विभिन्न २३ वटा समितिहरू गठन गरेका छौँ’ ।


उनका अनुसार विभिन्न २२ वटा विषयगत समितिहरू गठन गरिएको हो । पार्टी सभापति तामाङको संयोजकत्वमा बनेको निर्वाचन परिचालन समितिमा पूर्व सभापति तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, उपसभापति लेखबहादुर कार्की सहसंयोजक रहेका छन् । समितिमा काँग्रेस बागमती प्रदेश कार्यसमिति हेटौँडामा (रामेछापबाट प्रतिनिधित्व गर्ने) महासमितिका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारीहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू (क र ख), ८ वटै पालिकाका सभापतिहरू, ६४ वटै वडा सभापतिहरू, भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, जिल्ला स्थित क्रियाशील भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू सदस्य रहने गरी निर्वाचन परिचालन समिति गठन गरिएको सचिव कार्कीले जानकारी दिए ।

 

त्यस्तै काँग्रेसले दुई वटा नगर र ६ वटा गाउँपालिका रहेको रामेछापमा ८ वटै पालिकामा संयोजक खटाएको छ। यही माघ २७ गतेभित्र पूर्णता दिने गरी मन्थली नगरपालिकाको संयोजकमा महाधिवेशन प्रतिनिधि युवराज भट्टराई, रामेछाप नगरपालिकामा पूर्व नगरप्रमुख तथा महासमिति सदस्य नरबहादुर थापामगर, लिखु तामाकोसी गाउँपालिकामा पार्टीका प्रमुख सल्लाहकार कृष्णबहादुर महत, गोकुलगंगा गाउँपालिकामा पार्टी नेता नानीबाबु बस्नेत, उमाकुण्ड गाउँपालिकामा नेता गेल्जे लामा (शेर्पा‌), खाँडादेवी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि रत्नहरि ढुंगेल, सुनापति गाउँपालिकामा महासमिति सदस्य केशवप्रसाद चालिसे र दोरम्बा शैलुङ गाउँपालिकामा महाधिवेशन प्रतिनिधि दीपक लामालाई संयोजकको जिम्मेवारी तोकिएको सचिव कार्कीले प्रष्ट्याए । 

 

निर्वाचनलाई थप सशक्त पार्ने केन्द्रीय परिपत्रअनुसार विभिन्न विषयगत समिति गठन गरेको काँग्रेस रामेछापले निर्वाचन सचिवालयको संयोजकमा पार्टी सचिव विनोद कार्की रहने गरी सीताराम कार्कीलाई सह–संयोजक बनाइएको छ । यो समिति थप जिम्मेवार रहेको उनको भनाई छ । 

 

यसै गरी पत्रकार हिमाल ढुंगेलको नेतृत्वमा प्रचार–प्रसार समिति बनाएको छ भने केशव महतको संयोजकत्वमा स्थानीय तह परिचालन समिति, डा. सुमन कर्माचार्यको संयोजकत्वमा बौद्धिक क्षेत्र समन्वय समिति, योगेन्द्र श्रेष्ठको संयोजकत्वमा सामाजिक संघसंस्था परिचालन समिति, रामचन्द्र अधिकारीको संयोजकत्वमा धार्मिक संघसंस्था परिचालन समिति र प्रकाश श्रेष्ठको संयोजकत्वमा निजी क्षेत्र समन्वय समिति गठन गरिएको काङ्ग्रेस रामेछापले जानकारी दिएको हो । 

पार्टीका युवा एवं जेन्जीलाई विशेष रूपमा परिचालन गर्ने निर्णय अनुसार १८ देखि ३० वर्ष लक्षित विशेष अभियान परिचालन समितिको संयोजक सञ्जय बुढाथोकीलाई तोकिएको छ । सह–संयोजकमा अविनाश कार्की र राजेश भण्डारी रहेका छन् ।

 

अनुगमन समितिको संयोजकमा पार्टी प्रवक्ता कुमार श्रेष्ठ, भूतपूर्व सैनिक परिचालन समितिमा केशवप्रसाद घिमिरे, ट्रेड युनियन काङ्ग्रेस परिचालन समितिमा नवराज घिमिरे तथा सह–संयोजकमा रामकृष्ण श्रेष्ठलाई तोकिएको छ ।

 

भूतपूर्व प्रहरी परिचालन समितिमा ढाकल थापा, निर्माण व्यवसायी परिचालन समितिमा उत्तम कार्की, कानुनी सहायता समितिमा यादवप्रसाद दाहाल र महिला स्वास्थ्य स्वयंसेविका परिचालन समितिमा अम्बिका हायु संयोजक तोकिएका छन् । अघिल्लो पटक जस्तै यो पटक पनि आफ्नो पार्टीको जित हुने विश्वासमा धारणा अगाडि सारेको काँग्रेस रामेछापले यो बेला मतदाता भेटघाटमा व्यस्त छ । 

 

पुरानो सदरमुकाम रामेछाप बजारबाटै घरदैलो थालेका उम्मेदवार रामचन्द्र खड्काको टोली यो बेला खाँडादेवीको सित्खा, भिरपानी, सुनापति गाउँपालिकामा मतदाता भेटघाट सकेर दोरम्बाका विभिन्न वडा–टोलमा भेटघाट गरी गरिरहेको छ ।