रास्वपा वरिष्ठ नेता बालेन शाह आज रामेछापको मन्थली आउने
२३ माघ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज (शुक्रवार) रामेछापको मन्थली आउने भएका छन् । उनी सिन्धुलीको मुलकोटबाट मन्थली तर्फ प्रस्थान गर्ने तयारीमा रहेको बुझिएको हो ।
रास्वपाले आगामी फागुन २१ गतेको निर्वाचनमा भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका बालेन पछिल्लो समय देश दौडाहामा रहेका छन् । सामाजिक सञ्जालमा लोकप्रिय बालेन जिल्ला आउने भए पनि रास्वपाका नेता कार्यकर्ताको तयारी भने हाल सम्म कुनै पनि नरहेको पाइएको छ ।
बिहीबार कोसी प्रदेशको ओखलढुङ्गामा पुगेर कार्यकर्ता भेटघाट गरेका बालेन गएराति सिन्धुलीको मुलकोट स्थित क्वालिटी रिसोर्टमा बास बसेको र त्यहाँबाट मन्थली आउने मन बनाएको रास्वपा रामेछापका सभापति रमेश रायमाझीले रामेछाप टाइम्सलाई बताए । ‘पूर्व निर्धारित योजना थिएन हामीले फागुन १५ गते सभामा ल्याउने तयारी गरेका हौँ । तर, सचिवालयले बाटो परेको बेलामा मन्थली कार्यालय पुगेर निस्किने भन्ने योजना आयो’ सभापति रायमाझीले रामेछाप टाइम्ससंग भने ।
मुलकोटबाट मन्थली हिड्ने तयारी भए पनि समय भने कति बजे भन्ने ठ्याक्कै निश्चित नभएको बुझिएको बुझिएको छ ।
पार्टी कार्यालयमा उनले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तयारी अगाडि बढाइएको रास्वपा जिल्ला सभापति रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए।
काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन देशकै प्रधानमन्त्री बन्ने योजनासहित २१ फागुको चुनावी प्रतिस्पर्धामा झापाबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रतिस्पर्धा गर्दै छन् ।
