बस दुर्घटनाले रामेछापमा तनाग्रस्त: पीडित परिवार प्रहरी सुरक्षा तोडेर प्रशासन छिरे, प्रशासनमा सेना परिचालन
२८ माघ, रामेछाप । हिजो भएको बस दुर्घटनामा परी आफन्त गुमाएका पीडित परिवारका सदस्यहरूले राखेका माग पूरा नभएको भन्दै रामेछापमा तनाव उत्पन्न भएको छ । बुधवार बिहानै देखि काठमाडौँबाट आएका गाडी खुर्कोटबाट छिर्न नदिएका पीडित परिवारले गाउँ–गाउँबाट आएका गाडी पनि खिम्ती र मन्थलीको आकाशे पुल नजिकै रोकेर यातायात ठप्प पारेका छन् ।
बुधवारै दिउँसो प्रशासनमा बसेको बैठकमा पीडित परिवारका सदस्यहरूले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने देखि प्रति मृतक २५ लाख रुपैयाँ सम्म क्षतिपूर्ति पाउनु पर्ने, अरनिको यातायातको सिन्डिकेट तोड्दै गाउँ गाउँ अन्य यातायातका साधना पनि संचालन गर्न दिनु पर्ने, मृतकका परिवारलाई रोजगारी, बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्थापन सम्मको व्यवस्था गरिनु पर्ने माग गरेका थिए । तर, उक्त माग पूरा गर्न यातायात समितिले अनिच्छा देखाएपछि पीडित परिवारहरू थप आक्रोशित भएका हुन् ।
दिनभर सवारी साधना ठप्प पारेका पीडित परिवारहरूले दिउँसो करिब ३ः३० बजेदेखि जिल्ला प्रशासन कार्यालयको गेटैमा आएर धर्ना दिँदै आन्दोलनलाई थप सशक्त पारेका छन् । पीडित पक्षसँगै धर्नामा देखिएका स्थानीयहरू समेत आक्रोशित हुँदा यति बेला रामेछाप प्रशासन तनाव ग्रस्त बनेको छ । केही बेर अगाडि पीडित परिवारका सदस्यहरूले प्रशासनको गेटमा खटिएका सुरक्षाकर्मीको गेट तोडेर प्रशासन छिरेका छन् । उनीहरूले सर्वदलीय बैठकमा राखिएका आफ्ना माग तत्काल सम्बोधन हुनु पर्ने र अरनिको यातायात समितिको केन्द्रीय अध्यक्षलाई समेत झिकाउनु पर्ने माग राखेका छन् ।

आक्रोशित पीडित परिवारका सदस्यहरूले गेटमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग लफडा गर्दै भित्र छिरेका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग भेटवार्ता आफै गर्ने र आफ्ना माग राख्ने जिकिर गरेका छन् । लिखु तामाकोशी गाउँपालिकाका विभिन्न वडाबाट पीडित परिवारका सदस्यहरू मन्थली झर्दा मन्थलीको अवस्था तनावग्रस्त बनेको छ । ठुलो संख्यामा प्रहरी परिचालित भएको छ ।
प्रशासनको सुरक्षाको लागि नेपाली सेना समेत तयारी अव्यवस्था प्रशासन कम्पाउन्ड भित्र पुगेको छ । दिनभर रोकिएका गाडीहरु केही बेर अगाडि देखि सवारी भने चल्न थालेका छन् ।
