रामेछापमा चुनावी माहौल : को कति बलियो, के नयाँ भन्नेहरू साँच्चै नयाँ हुन त ?

| फागुन २, २०८२ शनिबार

A A A
A A A

०२ फागुन, रामेछाप । रामेछाप जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा फागुन २१ गते (फेब्रुअरी २१, २०२६) हुने निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहौल तातिएको छ । तामाकोशी र सुनकोशीको काखमा  अवस्थित यो जिल्ला देशकै सबैभन्दा बढी मतदाता भएको क्षेत्र बनेको छ । निर्वाचन आयोगका अनुसार यहाँ कुल १ लाख ८७ हजार ९५२ मतदाता छन्, जसमध्ये ९६ हजार ८९२ पुरुष र ९१ हजार ६० महिला छन्। यो संख्यादेशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै हो। २ नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडामा फैलिएको यो जिल्लामा ९६ मतदान स्थल र २२८ मतदान केन्द्र निर्धारण गरिएका छन्। यसमध्ये केही स्थल अति संवेदनशील र संवेदनशील सूचीमा परेका छन्, जसले निर्वाचन व्यवस्थापनमा थप चुनौती थपेको छ।
 

विगत ३४ वर्षदेखि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी जस्ता  दलहरूले यो क्षेत्रमा पालैपालो जित्दै आएका छन् । तर, विकासका आधारभूत मुद्दाहरू— सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र खानेपानी— जस्ताको तस्तै छन् । ग्रामीण क्षेत्रमा सडकको अवस्था खस्किएको छ, स्वास्थ्य सेवा अपर्याप्त छ, विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ र युवाहरू रोजगारीका लागि बाहिरिन बाध्य छन्। बसाइँसराइको क्रम बढ्दा गाउँहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझा छन्, स्कुल र स्वास्थ्य केन्द्रहरू सुनसान हुँदै छन्। यस्तो अवस्थाले मतदातामा गहिरो निराशा पैदा गरेको छ। उनीहरू अब सधैँ झैँ दोहोरिने वाचाहरूमा विश्वास गर्न तयार छैनन्। यो चुनाव उनीहरूका लागि परीक्षा हो— पुरानो चिहानमा नयाँ विश्वास जगाउने कि चलायमान परिवर्तन रोज्नेछु

चरम आश्वासनको इतिहास र मतदाता निराशा

हरेक निर्वाचनमा राजनीतिक दलहरूले विकास, रोजगारी, पूर्वाधार र समृद्धिको ठुलो वाचा गर्छन् । तर कार्यान्वयन न्यून हुन्छ। रामेछापका ग्रामीण बस्तीहरूमा सडकको पहुँच अझै सीमित छ, स्वास्थ्य चौकीहरूमा औषधि र स्वास्थ्यकर्मी अभाव उस्तै छ , शिक्षण संस्थाहरूमा गुणस्तरीय शिक्षक र पूर्वाधारको कमी छ। युवा पुस्ता रोजगारी अभावमा विदेश पलायन भइरहेका छन्। पुराना दलहरूले बारम्बार मौका पाए पनि यी मुद्दाहरू सम्बोधन हुन सकेका छैनन्। यसले मतदातामा गहिरो निराशा पैदा गरेको छ।
 

सामाजिक सञ्जाल, घरदैलो अभियान र स्थानीय छलफलहरूमा फैलाइएका अफवाहहरूले यो निराशालाई थप बढाएका छन्। ‘जित्ने पुरानै दलले हो’  वा ’नयाँ पार्टीले जादु गरेर विकास गर्छु जस्ता भ्रमपूर्ण कुराहरूले मतदातालाई अलमलमा पारेका छन्। यस्ता misinformation र चरम  आश्वासनले गर्दा आम मतदातालाई  सुविचार गरेर निर्णय लिन कठिन बनाएको छ। विगतका निर्वाचनहरूमा जितेका नेताहरूले वाचा पूरा नगर्दा जनताको विश्वास टुटेको छ। अब मतदाताहरू शब्दको जादुमा फस्न तयार छैनन् । उनीहरूले वास्तविक कार्यशैली, इतिहास र दीर्घकालीन योजना हेर्न थालेका छन्।

पार्टीहरूको अनिश्चितता र विकल्पको खोजी
कुल १७ जना उम्मेदवारहरू मैदानमा छन्— १४ राजनीतिक दलका र ३ स्वतन्त्र । मुख्य प्रतिस्पर्धा पुराना दलहरू (नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी) र नयाँ शक्तिबिच देखिएको छ। 
प्रमुख दलहरूका उम्मेदवारहरूको संक्षिप्त विवरण यस प्रकार छन् ?

नेपाली कांग्रेसबाट रामचन्द्र खड्का
उनी नेपाली काँग्रेस पूर्व जिल्ला सभापति, २०४६ को जनआन्दोलनमा सक्रिय, अनुभवी तथा स्थानीय स्तरमा बलियो संगठनात्मक र व्यक्तिगत आधार भएका नेता हुन् । पार्टीले आन्तरिक परिवर्तन र नयाँलाई प्राथमिकता र अवसर दिएको दाबी गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ मा नयाँ अनुहारलाई अवसर दिएको बताएका छन्। खड्काले संयमपूर्वक लोकतन्त्रको रक्षा, विकास र पार्टी एकतामा जोड दिएका छन् । पार्टीले ‘फुलगियर’ अभियान चलाएर केन्द्रीय नेताहरू परिचालन गरेको छ। उनी नेपाली काँग्रेसबाट संविधान सभाको चुनाव २०६४ र २०७० मा पराजित भएका थिए ।

तस्बिर रविन थापा

हाल घरदैलो अभियानमा पार्टी सभापति एवं पूर्व राज्य मन्त्री तथा गत निर्वाचनमा नेकपा (एमाले) का नेता कैलाश प्रसाद ढुङ्गेललाई फराकिलो मतान्तरले हराउँदै आफ्नो शक्ति प्रदर्शन गराएका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आफ्नो जितको कमान्डर बनाएर हिँडेका नेता खड्काले मतदाताको साथ र बलियो ढाडस पाइरहेका छन् । यसले पनि उनी चुनाव जित्नेमा ढुक्क रहेको तर्क उनको छ । तर, पार्टी सभापति तामाङले नै यो पटक पनि टिकट ल्याएको चर्चाका बिच आफ्नो हातमा टिकट पारेका खड्कालाई पार्टी भित्रको संगठित गुट् र उपगुटै मुख्य समस्या रहेको नेताहरूको भनाई छ । आफ्नै क्रियाशील सदस्यहरूको मत सुरक्षित गर्न एवं जोगाउन मुस्किल परिरहँदा आक्रोशित हुने मतलाई मात्रै संगठित र सुरक्षित गर्न सके निर्वाचन जित्ने काँग्रेस कार्यकर्ताहरूको भनाई छ ।

नेकपा (एमाले) बाट माधव प्रसाद ढुंगेल
उनी नेकपा (एमाले) केन्द्रीय सदस्य तथा अनेरास्ववियु पूर्व अध्यक्ष समेत हुन् । उनले राष्ट्रिय युवा परिसदको २ कार्यकाल कार्यकारी उपाध्यक्षको जिम्मेवारी लिए पनि जिल्लामा पार्टीभित्र कम पकड भएका नेता मानिन्छन् । उनी  पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । पार्टीले विकास, आर्थिक स्थिरता, पूर्वाधार निर्माण (सडक, स्वास्थ्य, शिक्षा), रोजगारी र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएको छ। ‘मतदाता भेटघाटमा समृद्ध रामेछाप’ नारा दिएर घरदैलो अभियानमा खटिएका ढुङ्गेल पहिलो पटक जिताएर पठाए नयाँ र तीव्र ढङ्गले काम गर्ने आश्वासन बाँडिरहेका छन् । आफू युवा र केही गरौँ भन्ने भावना भएको हुँदा पनि आफूले जित्नु पर्ने उनको तर्क छ । उनलाई पनि मतदाता भेट्न भ्याइ नभ्याई छ । तर, पार्टी भित्रको आन्तरिक द्वन्द्व नै उनको लागि प्रमुख चुनौती रहेको चर्चा पनि उत्तिकै छ । पार्टी भित्रकै केही नेताहरू खुलेरै उनको विपक्षमा लागि परेको स्रोतको दाबी छ ।
                                                                                               तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट श्यामकुमार श्रेष्ठ (कुशल) 

उनी पूर्व गृह राज्य मन्त्री, दुई पटक सांसद निर्वाचित भइसकेका नेता हुन् । पार्टी  भित्र फरक विचार राख्ने समूह माथि निर्मम रहने चर्चा र आरोप खेप्दै आएका उनले चरम गुटगत राजनीति गर्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समय त झन् (एस) लगायत ६ अन्य साना दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आन्तरिक तीव्र द्वन्द्व रहेको चर्चा पनि छन् । केही नेताहरू उनलाई जिताउनै भन्दा पनि हराउनै बढी सक्रिय भएको चर्चा छ ।  पहिलो पटक निर्वाचित हुँदा पार्टी कार्यालय बेचेको भन्ने आरोप पनि उनीमाथि लाग्ने गरेको छ। यस पटक पनि उनले  सामाजिक न्याय, समावेशिता र ग्रामीण सशक्तीकरणमा जोड दिँदै मत मागिरहेका छन् । विगत निर्वाचनहरूमा राम्रो नतिजा निकालेको आधारमा निरन्तरता कायम राख्ने रणनीति सहित उनी चुनावमा होमिएका छन् । यत्ति मात्रै नभएर उनले विगतमा आफूले जित्दा विकासको लहरै ल्याएको भाषण चर्चको रूपमा दिई रहेका छन् । जिल्लाको विकासमा केही गरेन र भएन भन्नेहरूमाथि निर्मम रूपमा प्रस्तुत हुँदै आएका कुशलले यो पटक आफूले नजिते देशै दुर्घटनामा जाने सम्म भन्न भ्याइ सकेका छन् ।

                                                                                           तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स


(क) प्रदेशको मतदाता भेटघाट सकेर (ख) को खाँडादेवी हुँदै तत्कालीन माओवादी केन्द्रको गट मानिएको सुनापति र दोरम्बा छिर्न लागेका कुशललाई यो पटक भने ती दुई पालिकाको मत तन्न मुस्किल मात्रै हैन फलामको चिउरा चपाउनु जस्तै बनेको अवस्था छ । माओवादी कै छत्रछायामा देश तथा विदेशमा समेत नाम कमाएका कुलमान घिसिङले आफ्नै दल खोलेपछि (माओवादी केन्द्र) का सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाका पूर्व जनप्रतिनिधि समेत कुलमान घिसिङ्को पार्टी उज्यालो नेपाल तर्फ लागेपछि ती दुई पालिकामा काँग्रेस र एमालेलाई अंक गणितीय सहज बनेको दाबी गरिँदै आएको छ । यसले पनि उनलाई विगतमा जित्दै आएको रौनक यो पटक पनि कायम राख्न निकै मुस्किल पर्ने चर्चा छ । यद्दयपी नेकपाले ३ हजारको मतान्तरमा चुनाव जित्ने घोषणै गरिसकेको छ । 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.कृष्णहरि बुढाथोकी
उनी अर्थशास्त्रमा विद्यावारिधि, वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव सँगालेका राजनीतिका नयाँ पात्र हुन्  । अझ, भन्दा उनलाई राजनीति ज्ञान र अनुभव छैन भन्दा फरक पर्दैन । उनी काम एवं आफ्नो जिम्मेवारी पूरा सिकेर आएका मात्रै हुन् भन्दा फरक पर्दै न ।  नेपाल बैंकबाट खाइ रहेको जागिर छाडेर राजनीतिमा होमिएका उनी उनकै भाषामा ‘जाउलोको व्यवस्था गरेपछि केही गरौँ भन्न मैदानमा आएका’ हुन् । बैंकको जागिर सँगै बेला बखत रामेछापको विकासमा टेवा पुर्‍याउने भन्दै एक समूह मार्फत ‘रामेछाप विकास बहस’ नाम कार्यक्रम गरी यहाँको परिवेशसँग जोडिँदै आएका बुढाथोकीलाई राजनीतिमा प्रवेश गरेपछि सोही समूह आलोचना र गलपासो पनि बनी रहेको अवस्था छ ।



खयर, लामो समयदेखि रामेछापको समृद्धि अभियानमा सक्रिय, गरिब तथा बिरामीहरूलाई सहयोग नगरेका भने हैनन् । उनले सुशासन, प्रभावकारी सेवा, नतिजामुखी काम, युवा उद्यमशीलता, स्थानीय उत्पादनको बजारीकरण र भ्रष्टाचारमुक्त प्रशासनमा केन्द्रित रहँदै जनतासँग भोट मागिरहेका छन् । उनी आफै चैँ सुसंस्कृत राजनीति गर्न मैदान उत्रिएको तर्क बारम्बार भन्दै आएका छन् । यसलाई पुष्टि गर्न भने उनलाई पनि हम्यहम्य परिरहेको देखिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा लगाएका ठुला दलहरूको जरै सम्म रहेको संगठनसंग जोडिएका मतदाता एवं कार्यकर्ता खोस्नु नै उनको लागि भारी परिरहेको देखिन्छ । जिल्ला र पालिका तह सम्म संगठन विस्तार रहेको रास्वपाको सबै वडा तहमा सोचे अनुसारको बलियो संगठन नहुँदा पनि घरदैलो मै पुगेर मत माग्नुको डा. बुढाथोकीसँग विकल्प छैन । तर, पुराना दलहरूबाट नागरिकरहरु दिक्दार भएको तर्क गर्दै नयाँलाई अवसर पाउने दाउमा उनी पनि ढुक्क रहेको तर्क गर्दै आएका छन् । 

नेकपा एमाले र कांग्रेससंग भौतिक रुपमै द्वन्द्व बढाएको रास्वपा रामेछापले एमालेको संगठनलाई ठूलो क्षेति पुर्याउने हुँदा पनि एमाले रास्वपा प्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएको छ । यसले नयाँ दल (रास्वपा) मा बौदिक र राजनीतिक, कुटनीतिक संस्कार नदेखिएको पूराना दलहरुको तर्कले समेत पेल्दा रास्वपाको राजनीतिक धरातल कहाँ पुग्ने हो रोचक बन्दै गएको छ । 

अध्ययन र तथ्यले के पुष्टि गर्छ भने उनीहरू नयाँ हुँदै हैनन्



माघ ०६ गते पुरानासहित रास्वपा लगायतका दलहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो जित् निकाल्ने दाबीसहित उम्मेदवारी दर्ता गरेका (राप्रपा) बाट गोरे बहादुर तामाङ, (नेमकीपा) बाट केशरी श्रेष्ठ (एक मात्र महिला उम्मेदवार), उज्यालो नेपाल पार्टीबाट दीप बहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ,श्रम संस्कृति पार्टीबाट ढाल बहादुर खपाङ्गी मगर  आदि छन्। उनीहरू पनि संगठन बिस्तारसँगै मतदाता भेटघाटमा जिल्लाका विभिन्न गाउँ बस्ती घुमी रहेका छन् । 

जिल्लामा (रास्वपा) गठन देखि नै पार्टीमा लागेको भए पनि आफ्नो योगदान र क्षमतालाई लत्त्याउँदै, आर्थिक अवस्थासँग जोडेर नयाँ–नयाँलाई टिकट दिने परि पार्टीका विरुद्धमा उभिएर स्वतन्त्र उम्मेदवार बनेका सुकाजोरका अरुण कार्की, सन्तोष घिमिरे र बाबुकाजी खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता पछि भोट माग्न खासै गाउँ नछिरेका स्वतन्त्र उम्मेदवारहरू आक्रोशित र युवाहरूको मत काट्ने मात्रै योजनामा रहेको प्रस्ट देखिन्छ । 
तस्बिर अप्रिल अधिकारी
 

नयाँ दलहरू जस्तै उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीले सुशासन र विकासको कुरा गरिरहेका छन् । तर यिनीहरूको संगठनात्मक शक्ति, स्रोत र दीर्घकालीन योजना बारे मतदातालाई पर्याप्त जानकारी नै छैन । अझ, भनौँ, उम्मेदवारले पनि यी कुरालाई मतदातालाई बुझाउन सकिरहेका छैनन् । 

उज्यालो नेपाल पार्टीका उम्मेदवार दीप बहादुर योन्जन यस अघि नागरिक उन्मुक्ति पार्टीसँग सम्बन्धित थिए । पछि उनी सो पार्टी छोडेर उज्यालो नेपाल पार्टीमा आबद्ध भए । श्रम संस्कृति पार्टीका ढाल बहादुर खपाङ्गी मगर यस अघि नेपाली काँग्रेससँग परिचित नेता हुन् । यसरी दल फेरेर मत माग्न पुग्ने उम्मेदवारहरू माथि प्रश्न नै प्रश्न तेर्सिएका छन् ।
 

के नयाँ भन्नेहरू साँच्चै नयाँ नै हुन् ? 
अघिल्लो निर्वाचनको ताका चर्चित पत्रकार रवि लामिछानेले खोलेको पार्टी रास्वपामा केन्द्र देखि तल्लो तह सम्म सबै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी) मा लामो समय संगठनमा क्रियाशील बनेर लागेकाहरू नै जोडिएका मात्रै छैनन् । होमिएका छन् । र, ती नै आफूले छोडेर आएको पार्टीका विरुद्ध आगो ओकली रहेका छन् । कार्यकर्ता उनीहरू पुरानै हुन् । राजनीतिक संस्कार, चेतना, योजना र पद्धति ऊनीहरूसँग पुरानै छ । फरक यत्ति हो की पार्टीको दर्ता मिति नयाँ छ । केही नयाँ अनुहारहरू हुँदै नभएका हैनन् । रास्वपाबाट मन्त्री, सांसद बनेका केही युवाहरू पक्कै राजनीतिमा नयाँ हुन् तर उनीहरू आफ्नो पुरानो कर्म भन्दा फरक ठाउँमा सुनौलो अवसर पाए र आफूसँग सिकेको ज्ञान, सिप र क्षमता देखाउने क्रममा अब्बल साबित भए ? तर के रामेछापमा खडा भएका र घण्टी, चिम भनेर लडिरहेका नेताहरू साँच्चै नयाँ हुन् । हाम्रो अध्ययन र तथ्यले के पुष्टि गर्छ भने उनीहरू नयाँ हुँदै हैनन् बस उनीहरू हिजोका दिनमा पार्टीको सदस्यता लिएर राजनीतिमा खुलेर सक्रिय नभएका र नदेखिएका अनुहार मात्रै हुन् । नयाँ हैनन् । 

मिलन घिमिरे (बि क)
| जेठ २५, २०८२ शनिबार
जुनी मान्नधर
| जेठ ४, २०८२ शनिबार
जुनी मान्नधर
| फागुन २६, २०८१ सोमबार
कन्चन कार्की
| फागुन १४, २०८१ बुधबार
अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| माघ ३०, २०८१ बुधबार