रामेछापमा आइपुग्यो मतपत्र, १८ गते सम्म मतदान केन्द्र पुर्याइने

| फागुन ११, २०८२ सोमबार

A A A
A A A

११ फागुन, रामेछाप । रामेछापमा मत आइपुगेको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि ‘महत्त्वपूर्ण’ पत्र रामेछापको सदरमुकाम मन्थलीमा झारिएको हो । 

 

सोमबार साँझ नेपाली सेनाको कडा सुरक्षाका बिच एउटा ट्रक मार्फत प्रत्यक्ष तर्फ २ लाख २० हजार र समानुपातिक तर्फ कूल २ लाख ५ हजार मत पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय एवं जिल्ला अदालत रामेछापमा आइपुगेको हो । उक्त मत पत्र आइतबार साँझ खटाइएका १३ सय ७४ जना कर्मचारीहरू मतदान केन्द्रमा खटिँदा सँगै पठाइने जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले रामेछाप टाइम्सलाई बताए । ‘तालिम सकेर फिल्डमा कर्मचारी खटाउँदा हामी यी सामाग्रीहरू सँगै पठाउँछौँ’

 

भोलि मंगलबार देखि मन्थली स्थित मन्थली माविमा अभिमुखीकरण गराएर फागुन १८ गते सम्म फिल्डमा कर्मचारी खटाउने तयारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी सँगै मतपेटिका, मतपत्र लगायत निर्वाचनका आवश्यक सामाग्री खटाउने तयारी गरेको छ । 

२१ फागुनमा हुन लागेको निर्वाचनमा रामेछापमा तीन जना स्वतन्त्र सहित १४ राजनीतिक दलका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्दै छन् । भने, मुख्य एवं पुराना राजनीतिक दलहरू बिच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

 

नेपाली काँग्रेस, नेकपा ‍(एमाले), नेकपा, रास्वपा सहित राप्रपा लगायतका दलहरू यो बेला मत माग्ने दौड धूप गरिरहेका छन् । तर, विगतको जस्तो रामेछापमा भने दलहरूले ठू–ठुला आमसभा भने गरेका छैनन् ।