रामेछापका ३१ मतदान स्थलमा सिसी क्यामेरा जडान, ८० प्रतिशत ठाउँमा पुगिसके सुरक्षाकर्मी
१२ फागुन, रामेछाप । निर्वाचन सरगर्मी बढ्दै गएको रामेछापमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र प्रशासनले २१ फागुनको निर्वाचनलाई चुस्त, दुरुस्त रूपमा सम्पन्न गर्नको लागि स्थानीय तहसँग समन्वय गरेर मतदान केन्द्रको सुरक्षालाई निष्पक्ष र पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोग गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) भोलाकुमार भट्टका अनुसार जिल्लाका ८ वटै पालिकाहरूसँग समन्वय गरी संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूमा (सिसिटिभी) क्यामेरा जडान गरिएको हो । ‘हामीले स्थानीय तहहरूसँग सहकार्य गर्दै नभएका ठाउँ जोड्न र भएका ठाउँमा थप व्यवस्थित गर्न लगाएका छौँ ।’
उनका अनुसार सुनापति गाउँपालिकाका सबै मतदान स्थलमा (सिसिटिभी) जडान धमाधम भइरहेको छ भने, रामेछाप, मन्थली नगरपालिकासहित उमाकुण्ड, गोकुलगंगा,लिखु तामाकोशी, खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाका ३१ वटा विभिन्न मतदान केन्द्रमा (सिसिटिभी) जडान गरिएको हो ।
९१ हजार ६० जना महिला मतदाता र ९६ हजार ८ सय ९२ जना पुरुष गरी कूल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेको रामेछापमा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र रहेका छन् । गत २०७९ को निर्वाचनको तुलनामा यो पटक उमाकुण्ड गाउँपालिका–५, प्रीतिको सरस्वती मावि सुनुवार धारा र मन्थली नगरपालिका–११, गेलुको मनकामना माविमा २ वटा मतदान केन्द्र थप भएका छन् ।

आयोगको कार्यालय रामेछापका अनुसार अघिल्लो निर्वाचनकै तुलनामा दोरम्बा शैलुङ् गाउँपालिका ५ र ७ नम्बर वडाको मतदान केन्द्र भने हटाइएको छ । ‘विद्यालय तथा वडा कार्यालयहरूमा सिसिटिभी क्यामेरा पहिले देखि नै भएको र नभएका स्थलहरूमा’ पनि जोड्नको लागि आग्रह गरिएकाले थप हुने प्रहरी प्रमुख (डिएसपी) भट्टले प्रष्ट पारे ।
स्रोतका अनुसार जिल्लाका एक दर्जन बढी मतदान केन्द्र र स्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशीलको रूपमा रहेको भनी औँल्याएको र सोही अनुसार सुरक्षा व्यवस्था तयार गरिएको बुझिएको छ ।
प्रहरी प्रमुख भट्टले मंगलबार सम्म ८० प्रतिशत मतदान केन्द्र तथा स्थलहरूमा सुरक्षाकर्मीको टोली पुगिसकेको जानकारी गराए । ‘कुनै आवश्यक परेको खण्डमा जहाँ पनि १० मिनेट भित्र अर्को फोर्स’ पुग्न सक्ने गरी सुरक्षा रणनीति तय गरिएको प्रहरी प्रमुख भट्टले बताए ।
आयोगको कार्यालयले सोमबार साँझै मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहित १३ सय ७४ जना कर्मचारी खटाइसकेको छ । उनीहरूलाई मंगलबार एक दिने अभिमुखीकरण कार्यक्रम गरी निर्वाचनलाई व्यवस्थापन एवं सफल पार्न प्रशिक्षित गरिएको छ ।
