रामेछाप उद्योग वाणिज्य संघलाई पनि लाग्यो चुनाव : चैत्र २० गते अधिवेशन, १९ गते साधारण सभा गर्ने निर्णय
१३ फागुन, रामेछाप । जिल्लामा निजी क्षेत्रका सम्पूर्ण व्यवसायीहरूलाई संस्थागत रूपमा जोड्दै आएको रामेछाप उद्योग वाणिज्यले नयाँ वर्ष अगावै नयाँ नेतृत्व पाउने निश्चित भएको छ । गत सोमबार बसेको संघको कार्यसमिति बैठकले आउँदो चैत्र २० गते वार्षिक साधारण सभासँगै ९ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको संघको सचिवालयले जनाएको हो ।
२ जना वस्तुगत, ७ जना एसोशियट, ९१ जना आजीवन र एक हजार ६ सय १९ जनासहित एक हजार ६ सय ९९ जनाले मतदान गर्ने संघको जिल्ला अधिवेशनले चैत्र २५ गते भित्रै नयाँ नेतृत्व पाउने छ । संघको विधान अनुसार यही फागुन महिना भित्रै नेतृत्व फेरिएर नयाँ आउनु पर्ने भए पनि संघीय निर्वाचनको आचारसंहिताको कारण समयमा अधिवेशन हुन नसके पनि चैत्र तेस्रो साता भित्र भने संघले नयाँ टिम पाउने पक्का भएको हो । ‘अधिवेशन र साधारण सभा यो पटक एकै चोटि गर्ने निर्णय गरेका हौँ’, महासचिव कुमार श्रेष्ठले’ भने ।

संघीय निर्वाचनको कारण व्यस्त रहेका व्यवसायीलाई संघको निर्वाचन र साधारण सभाले थप दौडधुप बढाएको हो । अब मन्थलीमा निजी क्षेत्रका व्यवसायीहरूलाई समेत चुनावी माहौलका कारण बजार तात्ने निश्चित छ । अधिवेशन र साधारण सभा एकै दिन गर्ने निर्णय गरेको संघको बैठकले तयारीलाई तीव्र पार्ने जिम्मेवारी सचिवालयलाई दिएको अध्यक्ष नवीन थापा मगरले बताए ।
योसँगै संघीय निर्वाचनको चटारोमा रहेको रामेछापका व्यवसायीहरूलाई आफै नेतृत्वमा पुग्ने र व्यवसायीहरूको नेतृत्व गर्ने मौका थपिँदा यहाँका व्यवसायीहरूको व्यस्तता थप बढेको हो ।
