रामेछापको देउरालीमा निर्वाचन गराउन जाँदै गरेको गाडी पल्टियो: १ प्रहरीको ज्यान गयो, ७ जना घाइते, ४ गम्भिर

| फागुन १८, २०८२ सोमबार

A A A
A A A

१८ फागुन, रामेछाप । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचन गराउन निर्वाचनको सामाग्री र कर्मचारीहरू बोकेर रामेछाप नगरपालिका वडा नं २, देउराली जाँदै गरेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना प्रहरीको घटनास्थलमै ज्यान गएको पुष्टि भएको सोही वडाका वडा अध्यक्ष निरकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार निर्वाचन सामाग्री र कर्मचारीहरू बोकेर जाँदै गरेको नम्बर खुल्न नसकेको महेन्द्र निसान गाडी वडा नं २ देउरालीको वडा कार्यालय नजिकै स्वमिडाँडामा उकालो मोड्मा मोड्ने क्रममा ब्रेक फेल भएर पल्टिएको आशंका गरिएको हो । 

 

सो दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि एम्बुलेन्स मार्फत अस्पताल तर्फ पठाइएको वडा अध्यक्ष श्रेष्ठले बताए । दुर्घटनामा परेका ‘चार जना गम्भिर अवस्थामा छन्, बाँकी ३ जना अरू भन्दा केही सामान्य छन्’ वडा अध्यक्ष श्रेष्ठले भने । 

 

दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली पुगिसकेको छ । घटना बारेमा विस्तृत जानकारी आउने क्रममा रहेको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार दुर्घटनामा परेको गाडीमा निर्वाचन सामाग्री सहित केही पनि काम लाग्ने स्थिति देखिएको छ ।