निर्वाचन गाडी दुर्घटना अपडेट : मृतकको संख्या २, ज्यान गुमाएका असईको पहिचान खुल्यो, बढुवा भएर आएका थिए रामेछाप

| फागुन १८, २०८२ सोमबार

मृतक शिक्षक र प्रहरी असई ।
A A A
A A A

१८ फागुन, रामेछाप । आज रामेछापको देउरालीमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । मन्थली अस्पतालमा उपचारको क्रममा थप एक जना शिक्षक (मतदान अधिकृत) को ज्यान गएसँगै मृतकको संख्या दुई पुगेको हो । घटनास्थलमै एक प्रहरीको ज्यान गएको थियो । उनी जिल्ला प्रहरी कार्यालय रामेछापमा केही समय अगाडि बढुवा भएर आएका परशुराम यादव रहेको पुष्टि भएको छ ।  

 

सोमबार बिहान निर्वाचनको सामाग्री र निर्वाचन गराउन खटिएका कर्मचारी लिएर रामेछाप नगरपालिका–२, साँघुटारको वडा कार्यालय तर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुबारी भन्ने ठाउँमा मोड् नपुग्दा दुर्घटना ग्रस्त हुँदा घटनास्थलमै एक जनाको र उद्दार गरी उपचार मन्थली अस्पतालमा ल्याइएका मतदान अधिकृत डोर प्रसाद घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजन प्रसाद तिम्सिनाले बताए । 

 

उनका अनुसार घाइते ७ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौँ लगिएको छ । मन्थलीमा उपचार सम्भव नभएका दुर्घटनामा परेको गाडी चालक सम्बर बहादुर मानन्धर, शिक्षक भिमबहादुर मानन्धर, शिक्षक कृष्णप्रसाद घिमिरे, शिक्षक केदार कुमार रोका, स्वास्थ्यकर्मी पूजा देवी सुनुवार, स्वास्थ्यकर्मी दुर्गा कार्की र कार्यालय सहयोगी सरिना पाठक खड्का रहेका छन् । उनीहरूलाई रामेछाप एयर्पोटबाट सेनाको हेलिकप्टर मार्फत सोमबार साँझ ६ः३० बजेको समयमा काठमाडौँ तर्फ पठाइएको हो । 

 

काठमाडौँ पुर्‍याइएका सबै घाइतेको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । 

 

काठमाडौँ पठाइएका मध्ये ४ जना गम्भीर रहेका छन् । २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि निर्वाचन सम्पन्न गराउन जाँदै गरेको निसान गाडी उकालोमा मोड नपुग्दा ब्रेक फेल भएर सडकबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परेको गाडीमा सवार केही यात्रुहरूले हाम फालेर ज्यान बचाएका छन् । 

 

२२८ मतदान केन्द्र र ९६ मतदान स्थलका धेरै जस्तो ठाउँमा सोमबारै निर्वाचन कर्मचारीहरू सामाग्री बुझेर खटिएका थिए । अपराह्न ४ः३० बजेको समयमा उक्त दुर्घटना भएपछि भने रामेछाप स्तब्ध बनेको हो । 

 

मृतक दुवै जनाको शव जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा राखिएको छ । मृतक असइको परिवारमा खबर गरी सकेको जिप्रका प्रवक्ता तिम्सिनाले बताए ।