निर्वाचनको गाडी दुर्घटना असर: आज नयाँ मतदान अधिकृत र मतपेटिकासहितका सामाग्री पठाइँदै

| फागुन १९, २०८२ मंगलबार

A A A
A A A

१९ फागुन, रामेछाप । हिजो निर्वाचनको सामाग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटनामा परेर मतदान अधिकृत डोर प्रसाद घिमिरे र सुरक्षार्थ खटिएका प्रहरी असई परशुराम यादवको ज्यान गएपछि शोकमा डुबेको देउरालीमा आज (मंगलबार) निर्वाचनका सामाग्री पठाइने तयारी अगाडि बढेको छ । दुर्घटनामा क्षति भएको ११ वटा मतपेटिका लगायतका सामाग्री सोमबार राति नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको र त्यसको ठाउँमा आज सामाग्री पठाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको हो । 

 

रामेछाप नगरपालिका वडा नं २, देउरालीको सिरुवारीमा मन्थलीबाट सितलदेवी मावि र वडा नं ३, साँघुटारको वडा कार्यालय भवनमा हुने निर्वाचनको सामाग्री बोकेर गएको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना ग्रस्त हुँदा २ जनाको ज्यान जानुको साथै ८ जना घाइते भएका छन् । घाइते मध्य ७ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ स्थित नेपाली सेनाको अस्पतालमा उपचार जारी छ । 

 

दुर्घटनामा परेको गाडीमा दुई स्थानको निर्वाचनका सामाग्री मतपेटिका फुट्नुको साथै अन्य सामाग्रीहरू पनि तलमाथि भएको हुन सक्ने आशंकामा सोमबारै दुर्घटना स्थलबाट संकलन गरी राति नै मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा बुझाइएको जिप्रका प्रवक्ता राजन प्रसाद तिम्सिनाले रामेछाप टाइम्सलाई बताए । ‘मतपेटिका फुटेका छन् । बाँकी मतपत्र लगाएका सामाग्री सुरक्षितै बुझाएका छौँ ।’

सोही विषयमा मध्य राति नै मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालसहित प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी, प्रहरी प्रमुख लगायतको छलफलबाट आजै सो ठाउँमा मतदान अधिकृतको जिम्मेवारी सहित कर्मचारी र सामाग्री पठाउने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले रामेछाप टाइम्सलाई बताए । ‘राति नै छलफल भएर आज हामी सामाग्री पठाउँदै छौँ’ । 

 

सहायक मतदान अधिकृत तीन जना त्यहाँ हिजै पुगिसकेका ले उनीहरू मध्येलाई नै मतदान अधिकृतको जिम्मेवारी दिने विषयमा कुरा भएको बताउँदै लामिछानेले भने ‘उहाँहरूलाई नै मतदान अधिकृत तोकेर केही कर्मचारी र सामाग्री आजै पठाउँछौँ ।’

 

त्यस्तै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश राजेन्द्र नेपालले पनि आजै सामाग्री पठाउने सबै तयारी भएको प्रस्ट पारे । गए राति १२ बजेदेखि नै मौन अवधि लागू भइसकेको छ । यो अवधिमा कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारहरू कसैले पनि कुनै पनि माध्यमबाट मत माग्न पाउँदैनन् ।

 

पर्सि बिहीबार बिहान ७ बजे बाटै मतदान हुने छ ।