रामेछाप जिल्लामा ४८ प्रतिशत मतदान, ९० हजार ७१० मत खस्यो
२१ फागुन, रामेछाप । रामेछाप जिल्लामा ९० हजार ७ सय १० मत खसेको छ । १ लाख ८७ हजार ९ सय ५२ मतदाता अर्थात् देशकै सबै भन्दा धेरै मतदाता रहेको यो जिल्लामा शान्ति पूर्ण रूपमा ९० हजार भन्दा बढी मत मात्रै खसेको हो ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म जिल्लाका ९६ वटै मतदान केन्द्रमा भएको शान्ति पूर्ण र उल्लासमय मतदानमा ४० हजार ८६ महिला र ५० हजार ६ सय २४ जना पुरुष मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
१ मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा ३ जना स्वतन्त्र उम्मेदवार सहित १४ राजनीतिक दलका नेताहरूले चुनावी प्रतिस्पर्धा गरिरहेको यो जिल्लामा ४४ प्रतिशत महिला र ५२ प्रतिशत पुरुष गरी कूल ४८ प्रतिशत मतदान सम्पन्न भएको बताइएको छ ।
जिल्लामा ९१ हजार ६० महिला र ९६ हजार ८ सय ९२ गरी कूल १ लाख ८७ हजार ९५२ मतदाता रहेका हुन् । यति बेला अधिकांश मतदान स्थलहरूबाट जिल्ला सदरमुकाम एवं मतगणना स्थल तर्फ मतपेटिका लिएर गइरहेका छन् ।
