रामेछापमा मतगणना निकै सुस्त : २ बुथको गणना हुँदा उज्यालो नेपाल पार्टीका योञ्जनले लिएर अग्रता, कसले कति मत पाए ?
२२ फागुन, रामेछाप । रामेछापमा मतगणना निकै सुस्त भएको छ । गणना सुस्त भएपछि दुई ठाउँमा गणना गरी नतिजा सार्वजनिक गर्नु पर्ने आवाज उठेको छ ।
शुक्रवार दिउँसो ३ बजेदेखि सुनापति गाउँपालिका ४ बेथानबाट थालिएको मतगणना साँझ ७ बजे सम्म जम्मा एउटा बुथको मात्रै गणना सकिएपछि निकै सुस्त भएको भन्दै यसलाई तत्काल अर्को ठाउँमा पनि गन्ने व्यवस्थापन गर्नु पर्ने राजनीतिक दलहरूले माग गरेका हुन् । ‘यही तरिकाले गणना हुने हो भने तीन दिनमा पनि नतिजा नआउने छाँटकाँट छ’, तत्काल अर्को ठाउँको व्यवस्था गरेर गणना हुनु पर्छ’ गणनास्थलमा रहेका सहभागी एक दलका नेताले भने ।
देशभरको मत परिणाम धमाधम सार्वजनिक भइरहेको तर रामेछापमा भने गणना सुस्त हुँदा समस्या भएको दलहरूको तर्क छ । हाल सम्म सुनापति गाउँपालिका वडा नं ४ को डहुको १४ सय ४० मत गणना सकिएको छ । त्यहाँ ११ मत हराएको भन्दै दलहरू ले थप असन्तुष्टि व्यक्त गरेका छन् । त्यहाँ खटिएका मतदान अधिकृतसहितले बुझाएको विवरणमा १४ सय ५१ मत खसेको विवरण भए पनि गणना गर्दा १४ सय ४० मत मात्रै भेटिएपछि समस्या भएको थियो । पछि समानुपातिक मत हुन सक्ने दाबी सहित १४ सय ४० लाई नै कायम गरेर गणना अगाडि बढाउने दल र आयोग बिच सहमति गरिएको छ ।
११ मत नभेटिएपछि केही बेर मतगणना समेत रोकिएको थियो ।
नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको वडा र उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको वडा (गाउँ) रहेको सुनापति ४ को मत गणना गर्दा सुरुवाती उज्यालो नेपाल पार्टीका उम्मेदवार दीपबहादुर योञ्जनले अग्रता लिएका छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवार खड्का र नेकपाका उम्मेदवार श्याम कुमार श्रेष्ठले पछ्याइ रहेका छन् ।
मतगणना भइरहेको स्थानबाट प्राप्त पछिल्लो मत परिणाम अनुसार (चिम) ले २५३, रुख १५७, सूर्य १२६, तारा ३६६, घण्टी ९४,माटो २२, केवलकार २, मौरी २, भाले १ रहेको छ । हाल सुनापति वडा नं २ को मत गणना भइरहेको छ । वडा नं ४ र २ को २४ सय ९६ मत गन्दा सूर्यलाई २२०, रुखलाई २९८, ताराले ७६२, घण्टी १५७, चिम ८९९, माटोले ३२ मत प्राप्त गरेका छन् । अब वडा नं ५ भिरकोटको गणना गर्ने तयारी भइरहेको छ ।
हाल ४ र २ नम्बरको मत गणना गर्दा ११० मत बदर भएको छ ।
