रामेछापमा रास्वपाका डा.बुढाथोकी विजयी
२४ फागुन, रामेछाप । एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.कृष्णहरि बुढाथोकी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । पुराना राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपाका उम्मेदवारलाई फराकिलो मतान्तरले उछिन्दै रास्वपाका बुढाथोकीले जित हासिल गरेका हुन् ।
सुरुवाती अग्रता लिएको उज्यालो नेपाल पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसलाई पछि पार्दै अन्ततः रास्वपाका बुढाथोकीले बाजि मारेका हुन् ।
सुरुवाती नतिजा कमजोर ल्याएका बुढाथोकीले नेकपा एमालेका उम्मेद्वार माधव ढुङ्गेललाई ७ हजार १ सय ९९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । बुढाथोकीले कूल खसेको सदर मतको २४ हजार ८ सय ८ मत प्राप्त गरेका हुन् ।
त्यस्तै निकटतम प्रतिद्वन्द्वी ढुङ्गेलले १७ हजार ६ सय ९ प्राप्त गर्दा जित हाँसलि गर्ने आकलन गरिएका नेपाली काँग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी नेकपाका श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार गोरे तामाङले ५ सय ४३ मत पाउँदा नेमकिपाकी एक मात्रै महिला उम्मेदवार केशरी श्रेष्ठले ५६ मत, राष्ट्रिय जन मोर्चाका उम्मेदवारले १६१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले ११५ मत, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारले ५६, नेशनल रिपब्लिक नेपालका उम्मेदवारले ७७, श्रम संस्कृति पार्टीका उम्मेदवारले १३ सय ६३ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका उम्मेदवारले १५६, उज्यालो नेपाल पार्टीका उम्मेदवार दीपबहादुर योञ्जनले ७ हजार २ सय १ मत, आम जनता पार्टीका उम्मेदवार पदम बहादुर तामाङले ३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, तीन जना स्वतन्त्र उम्मेदवार अरुण कार्की, बाबु काजी खड्का र सन्तोष घिमिरेले क्रमशः ९८, २२ र ६१ मत प्राप्त गरेका छन् ।
लामो समय नेपाल बैंकको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका बुढाथोकीले रामेछाप र देश कस्तो बनाउनु पर्छ भन्ने विषयमा लामो अध्ययन र अनुसन्धान गर्दै आएका थिए । उनी समृद्ध रामेछाप निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा आफू सधैँ चिन्तनशील रहेको दाबी गर्दै आएका छन् ।
मन्थली नगरपालिका वडा नं १२ गेलु सिक्राल घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका बुढाथोकीले रास्वपाको सदस्य लिएको दुई दिनपछि प्रतिनिधि सभा सदस्य पदको टिकट लिएका थिए ।
रामेछापमा पुरानै दलहरूबिच प्रतिस्पर्धा हुन्छ र काँग्रेस,एमाले मध्ये एकले चुनाव जित्छन् भन्ने चर्चाका बिच अपत्यारिलो ढङ्गले बुढाथोकीले अग्रता लिएपछि पहिलो प्रयासमै जित हासिल गरेका हुन् ।
राजनीतिबाट टाढा रहँदा पनि ‘रामेछाप विकास बहस’ लगायत विभिन्न कार्यक्रम मार्फत यहाँका जनतासँग नजिक हुने आधार खोजेका बुढाथोकीले देशभर जस्तै रामेछापमा पनि बाजी मार्न सफल भएका हुन् ।
यद्दयपी बुढाथोकीलाई जिल्लाको भूगोलबाटै अपरिचित रहेको आरोप लाग्दै आएको छ । किनकि उनी मन्थली नगरपालिका भन्दा बाहेक अन्य स्थानीय तहमा चुनावमा मत माग्न भन्दा बाहेक कहिल्यै पुगेका थिएनन् । कतिपयले त प्रतिनिधि सभा सदस्यमा पदमा निर्वाचित बुढाथोकीलाई किताबमा लेखेका बाहेक अन्य जानकारी नै नभएको भन्दै टिप्पणी समेत गर्दै आएका छन् ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापमा तीन स्वतन्त्र (केबलकार, कैँची, र त्रिभुजसहित) १४ राजनीतिक दलका प्रतिनिधिले प्रतिस्पर्धा गरेका थिए ।

