रामेछापमा झण्डै ९ हजार मत बदर
२६ फागुन, रामेछाप । रामेछापमा झण्डै ९ हजार मत बदर भएको छ । सोमबार राति सम्पन्न प्रत्यक्ष र समानुपातिक दुवै तर्फको गरी कूल ८ जार ८ सय ५६ मत बदर भएको हो ।
मुख्य निर्वाचन कार्यालय रामेछापले दिएको जानकारी अनुसार प्रत्यक्ष तर्फ ५ हजार ४८ र समानुपातिक तर्फ ३ हजार ८ सय ८ मत बदर भएको हो । जिल्लामा प्रत्यक्ष तर्फ ८७ हजार ४२ मत खसेकोमा ८१ हजार ९ सय ९४ मत मात्रै सदर भएको हो । प्रत्यक्ष तर्फ जिल्लामा १ लाख ८७ हजार ९ सय ५२ जना मतदाता रहेका थिए । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापमा ४६.३२ प्रतिशत मत मात्रै खसेको थियो ।
६४ वटै वडामा स्वयंसेविकाहरू परिचालन गरी मतदाता शिक्षा लागू गरिएको भनिए पनि कतिपय वडामा स्वयंसेविकाहरू नै नखटिएको समेत चर्चा हुँदा त्यसको असर भने मतदानमा परेको छ । प्रत्यक्षमा खसेको कूल सदर मतको सबै भन्दा धेरै रास्वपाका डा.कृष्णहरि बुढाथोकीले २४ हजार ८०८ मत पाएर निर्वाचित भए भने नेकपा एमालेका माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत पाएर पराजित भए ।
नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३०७ मत मात्रै पाएर तेस्रो बने । खड्काले चुनाव जित्ने धेरैको आङ्कलन उल्टिएपछि बुढाथोकीले बाजी मारे ।
त्यस्तै समानुपातिक तर्फ ८७ हजार ४ सय ९१ मत खसेकोमा ८३ हजार ६ सय ८३ मत मात्रै सदर भएको हो । जिल्लामा समानुपातिक तर्फ १ लाख ९० हजार ३७४ मतदाता रहेका थिए । समानुपातिक तर्फ पनि रास्वपाले पहिलो मत पाएको छ ।
सोमबार साँझ सम्पन्न समानुपातिक तर्फको मत गणनामा २७ हजार ५७० रास्वपाले, १५ हजार ६७३ नेकपा एमालेले पाउँदा १४ हजार ३८३ मत नेपाली काँग्रेसको रुख चिन्हले पाएको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तारा चिन्हमा १२ हजार ४० मत पाएको छ ।
