सुत्केरी हुन नसकेकी हिमगंगाकी बेलिमायालाई काठमाडौँ पठाइयो
१७ फागुन, रामेछाप । रामेछापबाट एक सुत्केरी हुन नसकेकी महिलाको उद्दार गरिएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हो ।
मंगलबार बिहान रामेछाप अस्पतालबाट रेफर भएर मन्थली अस्पतालमा ल्याइएकी रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा तामाङ टोलकी ३५ वर्षीय बेलीमाया तामाङलाई मन्थली अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।
बागमती प्रदेशको नाबालक शिशु र मातृ हवाई उद्दार कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र रामेछाप नगर उपप्रमुख बाल कुमारी कार्की (थापा) ले सम्बन्धित निकायमा पहल गरेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हो । हिमगंगा तामाङ टोलकी बेलिमायाँको पारिवारिक स्थिति अत्यन्तै कमजोर अवस्थाको रहेको बुझिएको छ ।
उनका श्रीमान् पनि शारीरिक रूपमा अपाङ्ग रहेका छन् । बेलीमायाका चार सन्तान घरमा स–सानै रहेको नगरपालिका उपप्रमुख कार्कीले बताइन् ।
