दक्षिण अफ्रिकका पूर्व राष्ट्रपति जेकबले प्रहरीसमक्ष आत्मसमर्पण गरे

| असार २४, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२४ असार, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

 

उनी बुधबार जेलमा आत्मसमर्पनको लागि गएको उनकी छोरी सामाजिक संजालमार्फत जनाएकी छिन् ।

 

राष्ट्रपति जेकबलाई स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले विज्ञप्ति मार्फत जनाएको बिबिसीले स्रोतलाई उदृत गर्दै भनेको छ ।

 

केही दिनअघि जेकबलाई बुधबारसम्ममा आत्मसमर्पण नगरे पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो । ७९ वर्षका पूर्व राष्ट्रपतिलाई  अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो । 


"राष्ट्रपति जुमाले पक्राउ आदेशको पालना गर्ने निर्णय गरेका छन्" उनको फाउन्डेसनले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ।

 

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो।


जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।