मन्थली नगरपालिका किसानको साथी बन्दैः उन्नतजातका ५० गाई,१५० बोकाबाख्रा किसानलाई (भिडिओ)

| असार २५, २०७८ शुक्रबार

A A A
A A A

२५ असार, रामेछाप । कृषिप्रधान देशलाई कृषिबाट समृद्ध बनाउन सकिन्छ भन्ने मूल नारा बोकेको मन्थली नगरपालिकाले किसानहरुसँग जोडिएर गर्ने प्रमुख कामलाई तीव्र गतिमा अगाडि बढाएको छ । आगामी आर्थिक वर्षको लागि नगरले कृषि क्षेत्रको विकास तर्फ कूल बजेटको एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

 

चालु आर्थिक वर्षको अन्तसम्म आइपुग्दा नगरपालिकाले पशुपालनलाई व्यवसायिक बनाउनु पर्ने, दूध उत्पादनमा वृद्धि गर्ने युवालाई रोजगारमुखी बनाउने भन्दै नगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तरगत संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा किसानहरुको समेत केही लागत व्यहोर्ने गरी व्यावसायिक पशुपालनलाई अगाडि बढाउने उद्देश्यले उन्नतजातको होलस्टेन गाई खरिद गरी किसानहरुलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले यसै आर्थिक वर्षभित्र नगरपालिकाभित्र छनोटमा परेका समूह, सहकारीमार्फत ५० वटा गाई प्रदान गर्ने कार्यक्रम रहेको नगरपालिकाका पशुप्रावाधिक एवम् पशु सेवा उपशाखा प्रमुख मुकुन्दकुमार खड्काले रामेछाप टाइम्ससँग बताए । उनले भने "हामीले हिजो १५ वटा गाईहरु किसानलाई हस्तान्तरण गरिसक्यौं, अब बाँकी ३५ वटा गाई यसै महिनाभित्र प्रदान गर्ने तयारी भैरहेको छ । गाई ल्याउने काम भएको छ । हामी ३० गतेभित्रै सबै गाई दिन्छौ ।"

नगरपालिकाले किसानहरुलाई ठाउँ, अनुसारको पशुप्रदान गर्ने योजना बनाएको थियो । यसरी ठाउँअनुसार गाईबाख्रा, बोका किसानलाई दिदाँ उनीहरुलाई ती पशुपालनमा सहजता हुने र सोचेजस्तो उत्पादन गर्ने सक्ने विश्लेषण गरिएको छ । यसरी ७० प्रतिशत लागत साझेदारीमा बाख्रा, गाई, गोठ सुधारलगाएतका कार्यक्रम नगरले गरेको छ ।

 
नगरका अनुसार ७० प्रतिशत लागत साझेदारीमा गाई प्रबर्दन कार्यक्रम अन्तर्गत नगरभित्रका तीन सहकारी छनोटमा परी गाई पालनको लागि गाई प्रदान गरिने प्रक्रिया अघि बढेको हो । केही गाई सहकारीलाई दिइसकिएको छ ।

यसरी छनोट हुनेमा समली कृषि सहकारी संस्था प्रा।लि मन्थली न.पा ४, नव अभियान कृषि सहकारी संस्था प्रा।लि मन्थली न.पा १३  र मन्थली दूघ्ध उत्पादन कृषि सहकारी संस्था मन्थली १५ रहेका छन् ।

 

यी सहकारीहरुले सामूहिक रुपमा गाईपालन गरी व्यवसायिक पशुपालन अघि बढाएका छन् । उनीहरुलाई नगरसँगको साझेदारीले रोजगारीतर्फ उन्मुख बनाएको संचालकहरु बताउछन् ।

जसमा समली कृषि सहकारीले १० वटा, नव अभियान कृषि सहकारी संस्थाले २५ वटा र मन्थली दूघ्ध उत्पादन कृषि सहकारी संस्था मन्थलीले १५ वटा गाई ७० प्रतिशत अनुदानमा पाउने छन् ।

नगरले बाख्रा पाल्ने किसानहरुलाई समूह, सहकारीको मार्फत छनोट गरि नगरभित्रका एक सय ५० कृषकहरुलाई उन्नतजातको बोयर बोका, बाख्रा, जमुनापारी, खरी जातका प्रदान गरेको हो । शुक्रबार नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले उक्त बाख्राहरु किसानहरुलाई प्रदान गरे ।


उन्नतजातका बोयर बोका हस्तान्तरण गरे । नगरप्रमुख बस्नेतले नगरले दिएको सहयोगलाई टेकेर किसानहरुले व्यवसायिक बन्न आग्रह गरे ।


पशु उपशाखा प्रमुख खड्काले नगर दूध, मासु, अण्डा लगाएतमा आत्मनिर्भर भएको भन्दै अब व्यवसायिक बन्नको लागि नगरले यो विधि अघि सारेको बताए । उनले किसानहरुको साथमा आफूहरु रहेको भन्दै पशुपालन, कृषिमा कुनै समस्या भएमा नगरका १४ वटै वडामा आफ्ना प्राविधिकहरु रहेकाले आफूहरुसंग जोडिन किसानहरुलाई आह्वन गरे ।

उनले कृषिबाटै नगर आगामी दिनमा आत्मनिर्भर हुनेमा विश्वास ब्यक्त गरे । अहिले विभिन्न जातका विरुवाहरु, फलफूल सार्ने, रोप्ने समय रहेकाले पनि किसानहरुलाई सबै उत्पादनलाई ब्यवसायिकता तर्फ जानेगरी अघि बढाउने उनी सुझाउछन् ।


धान रोप्ने समय भएकाले नगरले कृषि उपकरण केही दिनमै हस्तान्तरणको तयारीमा रहेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख हेमन्त बुढाथोकी सुनाउँछन् ।

 

उनका अनुसार केही दिनमा खेत जोत्ने मिसिन, मिनिटिलर प्रदानको तयारी छ । सामाग्री आइसक्यो, अब किसानहरुलाई खबर हुँदै छ, सबैको समय मिलाएर एक दुई दिनमै सामग्री हस्तान्तरण हुन्छ । शुक्रबार नै १६ वटा मिनिटिलर आइसकेको छ ।


त्यस्ते नगरले किसानहरुलाई तरकारी संकलन गर्नका लागि क्रेट, सुख्खाग्रस्त वडाहरुमा पानी ट्याङ्कीर ड्रम, पाइपहरु पनि प्रदान गर्ने तयारीमा रहेको सूचना अधिकारी बुढाथोकी बाउछन् ।

भिडियो हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार