फर्पुकाे सिस्नेरिमा पहिराेले दुई वटा माेटरसाइकल बगायाे, तीन जना घाइते, घाइते भन्छन् `बग्दा बग्दैकाे पहिराेबाट भागेर बाँच्याैँ´

| भदौ २१, २०७८ सोमबार

फोटो फाइल
A A A
A A A

२१ भदौ, रामेछाप । मन्थलीबाट बाम्ती तर्फ जाँदै गरेकाे माेटरसाइकल पहिराेले बगाएको छ । पहिराेमा परि तीन जना घाइते भएका छन् । 


साेमबार अपरान्ह ४ बजेकाे समयमा मन्थलीबाट उमाकुण्ड गाउँपालिका २ बाम्तीभण्डार तर्फ जाँदै गरेकाे  प्रदेश नं ३-०२-००८४-प ०५ नम्बरकाे माेटरसाइकल गाेकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुकाे सिस्नेरिमा अविरल वर्षासंगै खसेको पहिराले बगाएको घटना स्थलबाट नगेन्द्र हमालले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार प्रदेश नं ३ प ८३७८ नम्बरको अर्को माेटरसाइकल पनि पहिराेमा फसेकाे छ । उक्त माेटरसाइकल पहिराले बगाउन थालेपछि माेटरसाइकल छाेडेर भागेर ज्यान बचाएकाे हमालले सुनाए  । 

 

उनले भने `एउटा बाइक पहिराले बगायाे । भागेर बाँचियाे । बाइकमा सवार दुई जना साथिहरु घाइते हुनुभयो । अर्काे बाइक पनि पहिराेमा अड्किएकाे छ । पहिराे बगेकाे बगैछ । अड्किएकाे बाइक निकाल्न सकिन्छकि भनेर फर्पुका रमेश तामाङ जानुभयो । सक्नु भएन उहाँपनि घाइते हुनुभयो । बल्ल तल्ल पहिराेबाट बाँचियाे । फर्पुडाँडामा आइपुग्याै । ज्यान बाँच्याे । तर बाइक बगायाे ।´

पहिराेमा परेर बाम्तिभण्डाका वडा सचिव जिवन बडुवाल र आङछाेतेन लामा र तामाङ घाइते भएका हुन् । 


 उनीहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनामा कृषि सम्बन्धि काम सकाएर गाँउ फर्किदै गर्दा पहिराेमा परेकाे हमालले जानकारी दिए ।