नमूनामा मावि मन्थलीमा भ्रष्टचारः  खाजा भत्तादेखि  विकास निर्माणमा घोटालै-घोटाला (प्रतिवेदन र भिडिओसहित)

| भदौ २४, २०७८ बिहिबार

फाइल फोटो मन्थली माध्यामिक विद्यालय मन्थली, रामेछाप ।
A A A
A A A

२४ भदौ,रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा संचालित मन्थली मावि मन्थलीमा चरम अनियमितता भएको खुलासा भएको छ । अनियमितता भएको विषयमा छानविन गर्न मन्थली नगरपालिकाको संयोजनमा पाँच सदस्यीय समिति गठन भएको थियो । सो समितिले स्थलगत अनुगमन गरि प्रतिवेदन नगरपालिकालाई बुझाएको छ । तर, समितिले तयार पारेको स्थलग अनुगनम प्रतिवेदन  भने नगरपालिकाले विविध कारण देखाउदै सार्वजनिक गर्न आनाकानी गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरेर समितिले तयार परेको स्थलगत प्रतिवेदनको सार संक्षेप भन्दै ६ पृष्ठ लामो प्रतिवेदन पालिकाले सार्वजनिक गरेको हो । सो प्रतिवेदनमा आउनू पर्ने महत्वपूर्ण कुराहरु नसमेटिएको भन्दै स्थानीयहरुले प्रतिवेदन गलत भएको ठहर गरेका हुन् । 

प्रतिवेदन सार्वजनिक गर्ने आयोजित प्रकार सम्मेलन तस्विर मिलन घिमिरे /रामेछाप टाइम्स

जिल्लाकै उत्कृष्ट माविमा गनिदै आएको नमूनाका लागि अग्रसर मन्थली माविमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया नै अबैधानिक रहेको, छात्राबास भवन निर्माण गर्दा लाखौ रुपैया भष्ट्राचार भएको र नमुना मावि कार्याक्रम संचालनको लागि आएको बजेट हिनामिना पारेको लगाएतका विषय उल्लेख गरि स्थानीय पाण्डव सुवेदीले उजुरी हालेपछि माविमा आर्थिक चलखेल भएको पुष्टि भएको थियो । 


सो उजुरीमाथि मन्थली नगरपालिका शिक्षा शाखा मार्फत गठित छानविन समितिले स्थलगत अनुगमन गरि प्रतिवेदन पेश गर्ने गरि सबै कामको जिम्मेवारी उक्त समितिलाई दिएको थियो । गठित समितिले मन्थली माध्यमिक विद्यालयमा भएको सबै अनियमितताको फायल केलाएर सत्यतथ्य प्रतिवेदन मन्थली नगरपालिकामा पेश गरेको समितिले भनेको छ । समितिले बुझाएको प्रतिवेदन लामो समयसम्म नगरभित्र थन्किएपछि स्थानीयहरुले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । स्थानीयहरुको दबाबकाबीच बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको प्रतिवेदन भने सारसंक्षेप भन्दै नगरपालिकाले महत्पूर्ण बुँदा उल्लेख नगरि प्रतिवेदन सार्वजनिक गर्ने बाध्यता मात्रै पूरा गरेको हो । 

भिडिओ हेर्नुहोस्


पत्रकार सम्मेलनमा पत्रकारहरुले समितिले तयार पारेको स्थलगत प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्नु पर्ने माग राखेका थिए । तर, विविध कारण देखाउदै नगरपालिकाले तत्काल त्यो प्रतिवेदन सार्वजनिक गर्ने नमिल्ने भनेको हो । ‘विविध कारणहरु छन् । यो अख्तियारमा समेत सम्बन्ध राख्ने प्रतिवेदन हो । माथिपनि उजुरी छ । त्यस्तैले हामीले सबै कुरालाई समेटर यो सारसंक्षेप सार्वजनिक गरेका छौं नगरपालिकाका प्रमुख रमेश बस्नेतले भने र शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले भने ।’ 

मन्थली नगरपालिका नगर शिक्षा समितिको ३१ औं बैठकको निर्णयहरु ।
 

उनीहरुका अनुसार नगरका केही कर्मचारीहरुको समेत मन्थली माविमा नाम जोडिएकाले प्रतिवेदन जटिल बनेको हो । 


स्थलगत अनुगमन टोलीले विद्यालयमा विद्यार्थी भर्ना शुःल्क भन्दै अभिभावकबाट मनलाग्दि रकम असूली गर्ने गरेको, एउटा शिक्षकले एकैदिन तीन चोटी सम्मको खाजा भत्ता बुझेको, शिक्षकलाई ११ हजार तलब दिएर २५ हजारसम्मको बिल भर्पाई बनाउने गरेको, प्रदेश सरकारबाट आएका शिर्षक छुट्टिएर सोही शिर्षकमा खर्च गर्ने रकम मनलाग्दी खर्च गर्ने गरेको, विकास निर्माणका काममा अनियमितता भएको लगाएतका कुरा स्पष्ट देखिएको पत्रकार सम्मेलनमा उपस्थित् छानविन समितिका संयोजक सुदर्शनकुमार रायले बताए । 


त्यस्तै माविमा शिक्षक तथा कर्मचारी व्ययवस्थापन भर्ना गलत देखिएको, बस व्यवस्थापनको नाममा मनलाग्दी रुपमा भुक्तानी गरेको, निजी श्रोत र शिक्षक भर्ना प्रक्रिया नै गलत भएको, वित्तिय व्यवस्थापनमा मनलाग्दी रुपमा खर्च गरेको पुष्टि भएको रायले बताए । सो कुरा सुधार गर्नु पर्ने देखिएकाले नगर शिक्षा समितिले मन्थली माविलाई निर्देशन गरि सकेको नगरपालिकाका प्रमुख बस्नेतले स्पष्ट पारे । 


छानविन समितिले तयार पारेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक नभएपछि उक्त प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गर्दै पत्रकार दिपक भट्टले राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय रामेछापमा वोद्यार्थ दिएर मन्थली नगरपालिकासँग सूचनाको हक अनुसार सूचना माग गर्दा समेत आफूलाई सारसंक्षेपको प्रतिवेदननै दिएको रामेछाप टाइम्सलाइ बताए ।

 

उनले भने “मैले पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने नमिल्ने भनेको प्रतिवेदन मागेको थिए । तर, पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको सारसंक्षेपनै दिएको छ ।” 

पत्रकार  सम्मेलन गरि सार्वजनिक गरिएको छानविन समितिले तयार पारेको सार संक्षेप भनिएको प्रतिवेदन यस्तो छ ।