लाखौको लागतमा बनेको मन्थली नगरपालिकाको पार्क दुई महिना नबित्दै भत्कियो (भिडिओ/फोटोसहित)

| भदौ २८, २०७८ सोमबार

तस्विर सबै मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२८ भदौ,रामेछाप । रामेछापको मन्थली नगरपालिकाको ढोकैमा निर्माण गरिएको पार्क बनेको दुई महिना नबित्दै भत्किएको छ । नगरपालिकाको सुन्दरतालाई सार्थक बनाउन निर्माण गरिएको पार्कले यति बेला नगरपालिकालाई अगाडि बसेर गिज्याई रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट निर्माण गरिएको सो पार्क अहिले चिराचिरा परेको छ, चर्किएको छ । पार्कको पर्खाल भत्किएको छ, मार्बल फूटेको छ र गाह्रो भासिई सकेको छ । 

गत आर्थिक वर्षको बजेटबाट निर्माण गरिएको पार्क नगरपालिकाको सुन्दरता भर्न बनाइएको भए पनि निर्माण सकिएको केही महिना नबित्दै भत्किएपछि सुन्दरता त कहाँ हो कहाँ झनै कुरुपता थपिएको छ । यसरी नगरपालिकाको आँखै अगाडि निर्माण सकिएको केही महिनामै जीर्ण बनेको पार्क कहिले र कसले टालटुल गरिदिने हो भन्ने विषयमा नै अन्यौलता देखिएको छ । नगरपालिकाको कार्यालय अगाडिकै संचालित योजनाको यो हविगत छ भने अन्य स्थानको योजना कति प्रभावकारी होलान्  भन्ने आलोचना स्थानियहरूबाट सुरु भै सकेकोछ । 


नगरपालिकाको अगाडिको योजना यति सम्म जीर्ण हुँदा समेत मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल चोखिन खोज्छन् । प्राविधिक कमिकमजोरीलाई ढाकेर उनी अहिलेको झरिलाई दोष दिन पछि परेनन् । उनी भन्छन् -'पार्क भत्किएको छ । मैले पार्क भत्किएको विषयमा नगरप्रमुखसंग पनि कुरा गरेका छु । यो विषयमा ध्यानाकर्षण भएको छ । तर, प्राविधिक समस्याले भन्दा पनि अत्याधिक वर्षाका कारण पार्क भत्किएको हो । पार्क बनाउनू भन्दा पहिले त्यो ठाउँमा बाहिरबाट फूको माटो राखिएको रहेछ । त्यसैले पनि पानी धेरै परेपछि जमिन भासिएकाले बनाएको संरचना पनि भासिएको हो ।'


 
त्यस्तै नगरपालिकाका ईन्जिनियर डिल्ली अधिकारी समेत पार्क भत्किनुको कारण झरिलाई नै दिन्छन् । उनी आफ्नो प्राविधिक पक्षको कुनै दोष नभएको अडान लिन पछि परेनन् । नगरपालिकाको प्राविधिक पक्ष सम्हालेर बसेका ईन्जिनियर अधिकारीको यस्तो गैर जिम्मेवारीपूर्ण जवाफले नगरबाट संचालित योजना कति प्रभावकारी होलान् भन्ने प्रश्न खडा भएको छ । 

गत असार २५ गते निर्माण सम्पन्न भएको पार्क यति चाँडा भत्किनुमा प्रविधिक त्रुटी नभएको जिकिर गर्छन् नगरपालिकाका सव-ईन्जिनियर लोकेन्द्र बुढाथोकी । पहिले खोल्सो भएको ठाउँमा अहिले तलैदेखि वाल लगाएर पार्क र प्रतिक्षालय बनाएको हौं । 

 

त्यसैले पनि यो बर्खामा पानी निरन्तर परेकाले जमिन ठाउँ ठाउँबाट भासिदाँ पार्क र प्रतिक्षालय बनाएको जमिनै भासियो । त्यसबारेमा हामीले निर्माण कम्पनी लुमिनस् कन्ट्रक्सन प्रा.लि., मन्थली नगरपालिका प्रमुख ज्यू, हाकीमसाव, प्राविधिकहरुको टोलीले हेरेका छौं । र, भासिएको पार्कलाई बनाउनको लागि पनि कुरा भैसकेको छ, सब ईन्जिनियर बुढाथोकीले भने ।'


उनका अनुसार भत्किएको पार्क बनाउनको लागि निर्माण कम्पनी पनि राजी भएको छ । उसले सम्झौता लागतकै बजेटबाट भत्किएको पार्कको पुःननिर्माण गर्न सहमिति देखाएको उनी सुनाउछन् । 

 

गत २०७८ असार ७ गते निर्माण सम्झौता भएको उक्त योजना २५ असारमा सक्नु पर्ने थियो । कूल ४ लाख ३० हजार २ सय २० रुपैयाँ २० पैसा लागत रहेको उक्त योजना भत्किएसंगै कम्पनी पनि यतिबेला चुपचाप छ ।


 

‘कम्पनीका प्रतिनिधि रोशन श्रेष्ठले पहिलेकै खर्चमा बनाउछु भन्नुभएको छ । अहिले पनि पानी समय समयमा परिरहेकाले अझै भासिन सक्ने सम्भावना छ । पानी उग्रिएपछि जति भासिन्छ, त्यसपछि पुःन निर्माणको काम सुरु गरिहाल्छौं भन्नुभएको छ, बुढाथोकीले भने ।’

 

स्रोतका अनुसार सो आयोजनाले चालु आर्थिक वर्षको योजनामा पनि परेको छ । पार्कलाई पूर्णता दिन सो पार्कमा पूर्णकद्को शालिक समेत राखिने नगरपालिकाको आयोजना छ । सोही अनुसार शालिक पनि बनाउन् दिइ सकिएको स्रोतको भनाई छ । 

भिडिओ हेर्नुहोस्